फाइल तस्बिर
काठमाडौं- सरकारले अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते मध्यरातिबाट बन्द गर्ने निर्णय गरेको छ। बन्दको निर्णयसँगै भारतमा भने एयर बबल सम्झौताअनुसार सातामा दुईवटा उडान गर्ने निर्णय गरेको छ। तर, सरकारले उद्धार तथा चार्टर उडान भने गर्न दिने भएको छ।
उद्धार तथा चार्टर उडानबाट नेपाल आउने यात्रुले भने नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको सबै मापदण्ड पालना गर्नुपर्ने भएको छ।
सरकारले पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र होटल क्वारेन्टिनको नियमलाई यथावत् राख्ने नयाँ सर्त अगाडि सारेको छ। उक्त सर्तअनुसार चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने र जाने यात्रुहरूले बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य बोक्नुपर्ने भएको छ। यसअघि यस्तो निगम थिएन।
साथै, सरकारले कुनै पनि उडानमा पीसीआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी, आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने निर्णय भएको छ। साथै, भारतको उडानबाट नेपाल आउनेका लागि पनि सर्तहरु अगाडि सारिएको छ।
भारतको हकमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने छ। मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे/नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन दिनुपर्नेछ।
सरकारले होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐनअनुसार कारबाही गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।