काठमाडौं- सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा लागू हुने गरी पाँच निर्णय गरेको छ।
केही दिन अगाडि बसेको मन्त्रिपरिषद बैठकले हवाई उडानसम्बन्धी पाँचबुँदे निर्णय गरेको हो।
जसमा आन्तरिक उडान बन्ददेखि भारतमा दुई उडानसम्मको निर्णय समावेश छन्।
यी हुन् पाँच निर्णय:
१) २०७८ वैशाख २० गते राति १२:०० बजेदेखि वैशाख मसान्तसम्म नियमित आन्तरिक हवाई उडान स्थगन गर्ने।
२) २०७४ वैशाख २३ गते राति १२:०० बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गर्ने।
३) स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटेलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरू हप्ताको दुईवटामा सीमित गर्ने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले होटेल क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन गरी कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन गर्ने। होटेल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने। कुनै पनि उडानमा पीसीआर पोजिटिभ भएका यात्रुलाई बोर्डिङ पास दिइ यात्रा गराएमा सो उयडानका सबै यात्रुको क्ववारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्ने व्यवस्था गर्ने।
४) आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान अनुमति जारी गर्ने।
५) चार्टर्ड र उद्धार अन्तर्राष्ट्रिय उडानबाट आउने/जाने यात्रुहरूको बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।