काठमाडाैं- स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको एट्लेटिकोले जित निकाल्दै उपाधि यात्रा बलियाे बनाएकाे छ। घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एट्लेटिकाेले रेलिगेसन जोनको एइवरमाथि ५-० को जित निकालेकाे हाे।
एट्लेटिकोको फराकिलो जितमा एन्जल कोरेरा र मार्काेस लोरेन्टेले समान दुई गोल गर्दा यान्निक कारास्को एक गोल गरे। ४२औं मिनेटमा कोरेराले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। ४४औं मिनेटमा कोरेराले व्यक्तिगत दाेस्राे गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए।
खेलकाे ४९औं मिनेटमा कारास्कोले गोल गरेसँगै एट्लेटिको ३-० काे सहज जिततर्फ उन्मुख भयाे। ५४औं मिनेटमा लोरेन्टेले गोल गर्दै एट्लेटिकोलाई ४-० काे अग्रता दिलाए। ६८औं मिनेटमा लोरेन्टेले व्यक्तिगत दोेस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै एट्लेटिकोलाई ५-० को फराकिला जित दिलाए। हारसँगै एइवर ३१ खेलबाट २३ अंक जोडेर पुछारमा रहेको छ।
यता, आइतबार राति नै भएको अर्काे खेलमा उपाधि होडमा रहेको रियल मड्रिड बराबरीमा रोकिएको छ। गेटाफेको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल बराबरीमा रोकिएको हो। गेटाफेसँगको गोलरहित बराबरीको नतिजासँगै रियलको उपाधि यात्रामा धक्का लागेको छ।
रियल शीर्षस्थानको एट्लेटिको मड्रिडभन्दा ३ अंकले पछि छ। रियलको ३१ खेलबाट ६७ अंक छ। यता, एट्लेटिकोको समान खेलबाट ७० अंक छ। तेस्रो स्थानको बार्सिलोनाको ६५ अंक छ। उसले एक खेल कम खेलेको छ।
गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा रहेको छ। ला लिगाकै अर्काे खेलमा भिल्लारियलले लेभान्टेमाथि ५-१ को फराकिलो जित निकालेको छ। उसकाे जितमा स्यामुइल चुकविजीले दुई तथा जेरार्ड मोरेनोले गोल गर्दा दुई गोल उपहार पाएको थियो। घरेलु टोलीका मिकेल माल्साले एक गोल फर्काए। यस जितसँगै भिल्लारियल ४९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। लेभान्टे ३८ अंकसहित नवौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।