एक बिहान सुरञ्जन गाडीमा कतै जाँँदै थिए, मोबाइलमा एसएमएस आयो। एक भारतीय मित्रले लेखेका थिए, ‘मित्र, क्षमादान दिनू। लामो समयदेखि तिमीसित गफ हुन सकेको छैन। आज पर्यूषण पर्वको अवसर पारेर सच्चा हृदयले याचना गर्दै छु- यदि मैले आफ्नो मन, वचन अथवा कर्मले जानेर अथवा नजानेर तिम्रो चित्त दुखाएको भए हात जोरेर क्षमायाचना गर्दछु। मिच्छामि दुक्कडम!’
उनलाई मित्रको भनाइ निकै मीठो लाग्यो। अन्य मित्रहरूले पनि प्रत्येक वर्ष यस्तै एसएमएस पठाउने गरेको उनलाई सम्झना भयो। उनले त्यही एसएमएस कपी गरेर देश-विदेशका अन्य मित्रहरूलाई पठाए। उनको मनमा सुखद अनुभूतिका सुक्ष्म तरङ्गहरू उठ्न थाले।
उल्लिखित अंश पंक्तिकार आफैंले लेखेको काल्पनिक उपन्यास ‘क्षमादान’बाट झिकिएका हुन्। तपाईंलाई कौतुहल हुन सक्छ, यो पर्यूषण पर्व के हो? ‘मिच्छामि दुक्कडम’को अर्थ के हुँदो होला? खासमा पयुर्षण पर्व भनेपछि जैन धर्मवलम्बीहरुले विशेष महत्वका साथ मनाउँदै आएको एक वार्षिक उत्सव हो। श्वेताम्बर जैन धर्मवलम्बीहरु यो उत्सव आठ दिनसम्म मनाउने गर्छन् भने दिगम्बर जैन धर्मवलम्बीहरु दश दिनसम्म मनाउँछन्।
उत्सवको अवधिभर पूजा, अर्चना, समागम, तपस्या, आरती, त्याग, उपवास जस्ता धार्मिक कार्यक्रमहरू धुमधामपुर्वक आयोजना गरिन्छ। र, उत्सवको अन्तिम दिनलाई क्षमायाचना दिवसको रुपमा मनाउने गरिन्छ। सोही दिन जैन धर्मवलम्बीहरु ‘मिच्क्षामि दुक्कडम’ भनेर एक अर्कासित क्षमायाचना गर्छन्। मिच्क्षामिको शाब्दिक अर्थ ‘क्षमा’ हो र दुक्कडमको अर्थ ‘नराम्रो कर्म’।
गुम्सिएका पीडा फुकाऔं
पृथ्वीमा करोडौं रङ्ग-रुप, वर्ण, जाति-प्रजाति अथवा नश्लका प्राणी होलान्। तथापि मानव मात्र यस्तो प्राणी हो जो मानसिक एवं बौद्धिक रुपमा अन्य सबै प्राणीभन्दा बलियो एवं तीक्ष्ण हुन्छ। मानव मात्र नै यस्तो विलक्षण क्षमतावान प्राणी हो, जसभित्र स्वयंको मात्र होइन अरु मानवलगायत अन्य प्राणीको समेत दुःख–सुख, आनन्द–पीडा, आशक्ति–विरक्ति समेत बुझ्न सक्ने सामर्थ्य हुन्छ। त्यसैले हुनसक्छ, हामी कुनै पनि मान्छेको मूल्यांकन उसको सोचाइ, वचन र कर्मको आधारमा सजिलै गर्न सक्छौं। आफ्नो सम्पर्कमा आउने मान्छेको हाउभाउ आदि हेरेर मात्र उसको मनभित्र लुकेका कुरा ठम्याउन सकेका हुन्छौं।
मधेशतिर एउटा आहान छ, ‘इ त तोहार व्यवहार बताई, भात खाए लायक बार कि लात!’ (अर्थात्, ‘यो त तिम्रो व्यवहारले निर्णय गर्ने हो, तिमीले भात खान पाउने हो कि लात!’) हुन पनि हो, कुनै व्यक्तिविशेषले आफ्नो सोचाइ, वचन वा कर्मद्वारा अनुचित अथवा अपेक्षा गरिएको भन्दा विपरीत व्यवहार प्रदर्शन गर्दछ भने सरोकारवाला व्यक्तिभित्र अपमान, पीडा अथवा क्रोधको भाव स्वस्फूर्त रुपमा उत्पन्न हुन थाल्छ।
यस्ता खराब वचन अथवा व्यवहारका कारण बर्षौं पुरानो मित्रता कठोर शत्रुतामा परिणत हुन बेर लाग्दैन। एउटै आमाका दुई सन्तानबीच बोलचाल-आवतजावत समेत बन्द भइदिन्छ। कतिपय बेला त एउटा व्यक्तिले अञ्जानमै अर्काको अपमान गरिराखेको हुन्छ। त्यस्ता व्यक्तिलाई ‘तैंले यो बेठीक गरिस्’ भनेर कसैले सम्झाइदिएको पनि हुँदैन। अनि, मलाई फलानोले अपमानित गर्यो भनेर मनभित्र घाउ पालेर बस्नेसम्मको अवस्था बन्छ।
आजको भागदौडको जिन्दगीमा हामी कोही पनि यस्तोखाले परिस्थितिबाट अछुतो छैनौं। जानाजान होस् अथवा अञ्जानमै, कति आफन्त, हितैषी वा परिचितहरुको चित्त हामीले दुखाएका हुन्छौं। कतिपय बेला हामी स्वयम् पनि त्यसरी चित्त दुख्ने पीडितको कित्तामा परेका हुन्छौं। यस्तो परिस्थितिमा हामीले आफूसित चिनजान भएका अथवा नजिकका व्यक्तिहरुलाई वर्षमा कम्तीमा एक पटक मौका पारेर, भेटेर अथवा फोन संवाद गरेर भए पनि क्षमायाचना साटासाट गर्न सक्छौं। त्यसो गर्यौं भने लामो समयदेखि गुम्सिएर बसेको तिक्तता अथवा अपमानको घाउ तत्क्षण निको हुन्छ।
होलीले सम्झाएको क्षमायाचना र क्षमादान
मैले ‘क्षमादान’ उपन्यास लेखें। यो अपराधकर्म, प्रतिशोध, इख, क्षमायाचना र क्षमादानवरिपरी घुम्दै गरेको कथा हो। यस कथाका एक पात्र हुन्, सुरञ्जन। उनी अनेकन् ग्लानीबोधबाट जेलिएका हुन्छन्। र, उनीभित्र कसैकसैप्रति प्रतिशोधको आगो पनि उत्तिकै दन्किएको हुन्छ। उनी भित्रभित्रै दुःख र पीडाले भरिएका हुन्छन्। रातभरि ठीक ढङ्गले निदाउनसमेत सकेका हुँदैनन्। तर, एक दिन कुनै एक भारतीय मित्रको ‘मिच्छामि दुक्कडम’ सन्देश प्राप्त हुनसाथै उनीभित्र सकारात्मक ऊर्जाको रसायन सक्रिय हुन्छ। उनी आफ्ना अन्य मित्रहरुलाई समेत त्यही सन्देश पठाउँछन्। र, त्यसबाट उनलाई अनौठो सन्तुष्टिको भाव प्राप्त हुन्छ।
त्यो सकारात्मक रसायनको प्रभावले नै होला, उनी आफ्ना पिताको हत्या गर्ने व्यक्तिकी आमालाई खोज्न काठमाडौंबाट सिरहा हिँड्छन्। पिताको हत्या गर्ने व्यक्ति त जेलमा हुन्छ, तर बिधवासरह जीवन बिताउँदै आएकी आमा चाँहि मन्दिरअगाडि भीक्षा मागेर जेनतेन बाँचेकी हुन्छिन्। उनलाई खोज्दाखोज्दै सुरञ्जन त्यही मन्दिर अगाडि पुग्छन्।
ती महिलाको दारुण अवस्था देखेर सुरञ्जनका आँखा द्रवित हुन्छन्। उनी आदेशात्मक स्वरमा आफ्नो कर्मचारी मुनीलाललाई भन्छन्, ‘आइसँ ई महिलाक बासस्थान तोँ बैसेत आएल हमर घर हएत। ओकरा एकटा अलगे कोठा दऽ दिहे। कपडालत्ता, खानपिन आ दवाईपानीके सेहो कोनो कमी होबऽ नहीँ दिहे। ओकर ख्याल राखू। खर्च घटलापर हमरा खबर करू।’ (आजदेखि यी महिलाको बासस्थान तिमी बस्दै गरेको हाम्रो घर हुन्छ है। उनलाई एउटा सिङ्गो कोठा दिनू। लत्ताकपडा, खानपिन र दवाईपानीको कुनै कमी हुन नदिनू। यिनको ख्याल राख्नू। खर्च घटेको खण्डमा मलाई खबर गर्नू।)
यति गरेपछि उनको अन्तर्मनमा सुखद् अनुभूतिका तरङ्गहरू घनीभूत हुन थाल्छन्। लामो समयदेखि कुनै नजानिँदो भारीबाट थिचिएको अनुभवबाट आफू मुक्त भएको अनुभव गर्छन्। त्यसैले भनिन्छ, अन्तस्करणलाई साक्षी राख्दै क्षमायाचना गर्नु साहसी मान्छेको काम हो भने सदासयताका साथ क्षमादान दिनु ठूलो हृदय भएकाहरुको काम हो। यी दुवै कामबाट जस्तोखाले अनुभूतिसित साक्षात्कार हुन्छ, त्यो आफैंमा विलक्षण हुन्छ।
यसपालीको होली (फागू पूर्णिमा) आउँदैछ। होलीमा परापूर्वकालदेखि चल्दै आएको क्षमायाचना र क्षमादानको परम्परालाई अझै जोडबल लगाउँदै सच्चा हृदयले निरन्तरता दिने कि?
([email protected])
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।