काठमाडौं- नेकपाको केपी शर्मा ओली पक्षीय संसदीय दलको बैठक सकिएको छ। बैठकमा ११५ सांसद उपस्थित भएको दाबी गरिएको छ।
राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना गरी कुल १ सय १५ जना सांसद उपस्थित भएको बैठकपछि सांसद खिमलाल भट्टराईले सञ्चारकर्मीहरूलाई बताएका हुन्।
उनले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा सशक्त रुपमा उपस्थिति जनाउन सांसदहरूलाई निर्देशन दिइएको बताए। सरकारको बचाउ गर्दै संसदमा अनिर्वाय उपस्थित हुन भनिएको छ।
बैठकमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको पक्षमा लाग्ने संख्या विस्तारै बढ्दै जाने भन्दै सांसदहरूलाई नआत्तितन आग्रह गरेका उनले बताए।
यस्तो अवस्थामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने हिम्मत नरहेको भट्टराईले बताए। समयक्रममा प्रचण्ड–माधव पक्षका नेताहरु मुलघरमा फर्किने उनको दाबी छ।
नेकपा विभाजन हुन राजनीतिक र कानूनी रुपमा कठिन देखिएकाले एक भएरै छाड्ने बताए।
शुक्रबार प्रचण्ड-माधव पक्षको संसदीय दलको बैठक बसेको थियो। १ सय ११ जना सांसद आफ्ना पक्षमा रहेको प्रचण्ड-माधव पक्षको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।