फाइल तस्बिर।
काठमाडौं- नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले अब कसरी अघि बढ्ने भन्ने बारेमा आफूहरुले छलफल गरेर निष्कर्षमा पुग्ने बताएका छन्। उनले अहिलेको राजनीतिक परिस्थितिले निकास चाहेको बताउँदै सरकारसँग कुराकानी गरेपछि नयाँ ठाउँमा पुग्न सकिने बताए।
'अहिलेको परिस्थितिलाई छिचोलेर जाने कुरामा अग्रगामी संकेत देखेर नै यो छलफलको प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने सोच हो', शुक्रबार हस्ताक्षर समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।
उनले सरकारसँगै आफूहरुले वार्ता गरिसकेपछि सरकारसँग सहकार्य गर्ने कुरा सामान्य भएको बताए। तर, अन्य पार्टीहरुसँग पनि सहकार्य गर्नुपर्ने उनले थपे। 'देशलाई एकताबद्ध गर्न एउटासँग सहकार्य गरेर मात्रै हुँदैन। सम्पूर्ण पार्टीहरुसँग सहकार्य र नयाँ बाटोतिर अगाडि जाने कुरालाई हामीले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो कुरा हो', उनले भने।
उनले कस्तो खालको सहकार्य भन्ने कुरा भने आफूहरुले छलफलबाट टुंगो लगाउने बताए। 'देशमा रहेका सामाजिक, आर्थिक समस्याहरुलाई समाधान गर्न शान्तिपूर्ण रुपमा अगाडि बढ्ने कुरामा हामी अघि बढ्छौं। हाम्रा एजेन्डाहरु प्रष्ट छन्। त्यसमा हामी अगाडि बढ्छौं', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।