काठमाडौं- चलचित्र 'चिसो मान्छे'को सोमबारदेखि छायांकन सुरु भएको छ। प्रदर्शन मिति समेत पहिले नै तय गरेर फिल्मको सुटिङ काठमाडौंबाट थालिएको हो। फिल्मको छायांकन सुदूरपश्चिमको बाजुरा जिल्लाको एक गाउँमा पुगेर सकिने निर्माण पक्षले जनाएको छ।
एक महिनाअघि निर्देशक खनालसहित फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र देशभक्त खनाल बाजुरा पुगेर छायांकन स्थलसहित त्यहाँको भाषा र भेषभूषा अवलोकन गरेर फर्किएका थिए।
मुख्य भूमिकामा रहेकी अभिनेत्री खड्का सुदूरपश्चिकी युवतीका रुपमा देखिँदैछन्। उनले फिल्ममा स्थानीय (बाजुरा)को लवजमा संवाद बोल्नेछिन्। त्यहाँकी युवतीका रुपमा आफूलाई प्रस्तुत गर्न अभिनेत्री खड्का केही दिन बाजुराको गाउँमा पुगेर स्थानीय युवतीसँग घुलमिल भएकी थिइन्। उनीहरुको शिलस्वभाव नजिकबाट अनुभूत गरेर फर्किएकी हुन्।
निर्देशक खनाललाई संवादको स्थानीयकरणमा पत्रकार डिबी खड्काले सघाएका छन्। फिल्मका दुई कलाकार स्वस्तिमा र खनाललाई बाजुराको भाषामा संवाद गर्न पत्रकार खड्का र सुदूरपश्चिमकी गायिका शोभा थापाले सिकाएका हुन्।
'पशुपति प्रसाद', 'आमा'लगायतका लोकप्रिय फिल्म निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के. खनालले यो फिल्म विशेष रहने बताएका छन्। फिल्मको कथा, पटकथा र संवाद पनि खनालले नै लेखेका हुन्। शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा अभिनेत्री खड्का, अभिनेता खनालका साथै अर्पण थापा पनि अनुबन्ध भइसकेका छन्।
डि.एस डिजिटलको व्यानरमा बन्न लागेको फिल्मको प्रर्दशन २०७८ भदौ ११ गते हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।