काठमाडौं– ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकालेको छ। बिहीबार भएको खेलमा विनोद राईको ह्याट्रिक गोलमा ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनको जितमा दोस्रो हाफमा मैदानमा छिरेका विनोद राईले ह्याट्रिक गोल गरे।
त्यस्तै, कप्तान टंक बहादुर सिंदनले गोल गरे। खेलको २६ औं मिनेटमा टंकले गोल गर्दै ब्वाइज युनियनलाई १–० गोलको अग्रता दिलाएका थिए।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको ब्वाइज युनियनका लागि विनोद राई खेलको ६१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदानमा छिरे।
६४ औं मिनेटमा गोल गरेका विनोदले खेलको अतिरिक्त समयमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। उनको ह्याट्रिकसँगै ब्वाइज युनियनले झम्सिखेललाई ४–० गोलले हराएको हो। खेलमा सचिन श्रेष्ठ म्यान अफ दि म्याच घाेषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।