बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएका उनी अध्यययनरत विद्यालयकै छात्रलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको अनुसन्धानबाट उनकै विद्यालयमा अध्ययनरत १६ वर्षीय किशोर दिनेश भट्टको संलग्नता रहेको भन्दै सार्वजनिक गरिएको हो।
बुधबार दिउँसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरिएको हो। भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।
पक्राउ परेका भट्ट भागरथीकै गाउँ चडेपानीका रहेका बैतडी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरू आपसमा नाता पर्ने हुन्।
भागरथीका दाजु शंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका थिए।
गत माघ २१ गते बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बिभत्स अवस्थामा शव फेला परेको थियो। शव फेला परेको १३ दिनपछि प्रहरीले हत्याका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, डिआइजी उत्तमराज सुवेदीले दिनेशले भागरथीको बलात्कार र हत्या गरेको स्वीकार गरिसकेको बताए।
हत्यारा पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आफन्तले शव बुझेका छैनन्। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् कि भन्ने आशंकाले शव उठाउन नसकिएको मृतकका आफन्तले बताउँदै आएका छन्। भागरथीको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।