काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन व्यवसायीका ज्येष्ठ सदस्य कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिलाई नेपाल बार एशोसिएसनका चार पूर्वअध्यक्षले भर्त्सना गरेका छन्।
‘वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जीवित इतिहास हुन्। पञ्चायतकालमा बिपी कोइराला, रामराजाप्रसाद सिंह र प्रधानमन्त्रीलाई झापा आन्दोलनको कममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्टसाध्य यात्रा गर्ने साहसिक कानुन व्यवसायी पनि हुनुहुन्छ,’ पूर्वअध्यक्षहरु हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो इतिहास भएको व्यक्तित्वलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने, होच्याउने र दुर्वाच्य वचनले प्रहार गर्ने कुरा प्रधानमन्त्रीको शक्तिको अहकार र उन्माद भएको हाम्रो ठहर रहेको छ।’
उनीहरुले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति खेद र भर्त्सना पनि व्यक्त गरेका छन्। केही दिनअघि प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो?’ भन्दै व्यंग्य गरेका थिए। प्रधानमन्त्रीका अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकाले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको प्रहारलाई मुकदर्शक भएर सहन गर्न नसकिने भएकाले विज्ञप्ति प्रकाशित गरिएको जनाइएको छ।
‘प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अदालतमा विचाराधीन मुद्दालाई समेत प्रतिकूल असर गर्ने प्रयास भएकाले यस विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।