काठमाडौं- गत पुस १५ गते राजधानीमा आयोजित आफू पक्षको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधे- कालीबहादुर खामहरू कता छन्?
नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र खाम कोटेश्वरका व्यापारी रामहरी श्रेष्ठको हत्या घटनामा मुछिएका छन्। हाल उनी सरकारको दृष्टिमा फरार अभियुक्त हुन्।
ओलीले चर्चा गरेपछि खामलाई ओली समूहमा लैजान पहल भएको चर्चा समेत चलेको थियो। तर, चर्चाले ठोस आकार भने पाइसकेको छैन। तर, ओलीले खामलाई खोजेपछि प्रचण्डले शुक्रबार जवाफ दिएका छन्। काठमाडौंमा आयोजित सभामा सम्बोधन गर्दै उनले ओलीको खोजीलाई व्यंग्य गर्दै भने- आमाको दूध चुसेर भएन, बाउको घुँडो।
'कालीबहादुर खाम खोई अरे। त्यो कालीबहादुर खाम बिचरा, आफैंले केही गरेको त होइन। उसको मुद्दा ठीक ढंगले हल होस् भन्नका लागि म १०/११ वर्षदेखि लगातार लागेको छु। उसलाई परेको गाह्रोसाह्रो हेर्न मैले लगातार पहल गरेको छु', प्रचण्डले भने, 'जनमुक्ति सेनाका कमान्डर हुन्, जसलाई मैले दस वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पुर्याएको। ती मान्छेको अब केपीले संरक्षण गर्ने रे। आमाको दूध चुसेर भएन, बाउको घुँडो। यो भन्दा लाजमर्दो अरु हुन्छ? प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले हेर्ने रे। लाजैमर्दो।'
प्रचण्डले जनमुक्ति सेनाका सबै कमान्डर, योद्धा, घाइतेहरुलाई ओलीको कुरामा भ्रमित नहुन पनि आग्रह गरे।
प्रचण्डले ओली जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे भएको बताए। 'जनयुद्धको सहिदलाई सम्मान गर्ने कार्यक्रममा एकपटक पनि जानुभएन। अरु सबै नेता जानुभए पनि उहाँ जानुभएन। केपी जानुभएन। मैले खुब नोट गरेको छु', उनले भने।
प्रचण्डले जनयुद्धका घाइते, अपांगहरु माइतीघर मण्डलामा अनसन बस्दा आफूले अनेक गरेर, ऋण सापट खोजेर बेलाबेलामा राहत दिएको बताए। सरकारलाई पनि आफूले पटकपटक घाइते अपांगको उपचार हुनुपर्यो भनेको बताए। तर पहिले खाइपाइ आएको मासिक भत्ता पनि यो सरकारले खोसिदिएको उनको भनाइ छ।
'त्यो गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ। मैले धेरै पटक भन्दा कहीँ कतै टेर पुच्छर लगाइएन। उल्टो मासिक भत्ता खोसियो। घाइतेको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो। अहिले पार्टी विभाजन भएपछि आफू अल्पमतमा परेपछि मैले ओलीले भनेको सुन्छु- प्रचण्डले घाइते अपांगको उपचार गर्नुपर्दैन? फट्याइँ गर्न पनि कति सकेको। जालझेल गर्न पनि कस्तो दिमाग हो?', उनले प्रश्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।