काठमाडौं- चन्द्रागिरी हिल्समा अहिलेसम्मकै सर्वाधिक लगानीकर्ताको आवदेन परेको छ। कम्पनीले निष्काशन गरेको प्राथमिक शेयरमा १२ लाख ५१ हजारले आवदेन दिएका हुन्। प्राथमिक शेयरमा १७.५ गुणा बढि आवेदन परेको हो। चार दिनको अवधिमा २ करोड ४४ लाख कित्ताको लागि आवेदन परेको छ।
कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारण तर्फको १५ लाख ३४ कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो। जसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई बिक्री गरेर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणहरुले पाउने छन्। केहि दिनमा नै कम्पनीले बाँडफाँड गर्नेछ। आवेदन दिनेमध्ये एक लाख ३९ हजारले मात्रै १० कित्ताको दरले शेयर पाउने छन्। बाँकी आवेदनकर्ताको हात भने खाली हुनेछ।
यस अगाडि प्राथमिक शेयर निष्काशन गरेको प्रभु लाइफको प्राथमिक शेयरमा १० लाख ८५ हजारको आवेदन परेको थियो। उक्त आवेदन पनि सर्वाधिक थियो। पछिल्लो समय प्राथमिक शेयरमा सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको छ। आधार मूल्यमै शेयर प्राप्त हुने र उक्त शेयर दोस्रो बजारमा सूचिकृत भएपछि चार पाँच गुणाभन्दा बढी आम्दानी हुने भएपछि सर्वसाधारणको आकर्षण बढेको हो।
गएका दिनमा प्राथमिक शेयर निष्काशन गर्ने नेपाल पुनर्बीमा कम्पनी, रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्सको बजार मूल्य न्युनतम ५०० रुपैयाँभन्दा माथि र अधिकतम १५ सय रुपैयाँ भन्दा माथि पुगेको छ। यसले गर्दा उनिहरुको अत्याधिक आकर्षण बढेको छ।
प्राथमिक बजारबाट लाभ लिन भन्दै दैनिक २० हजार भन्दा धेरैले डिम्याट खाता खोल्ने गरेका छन्। माघ दुई गतेदेखि नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्दै छ। यसमा सबैलाई प्राथमिक शेयर पर्ने सक्ने भन्दै सर्वसाधारण लगानीकर्ताले डिम्याट खाता खोल्न थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।