काठमाडौं- बिहीबारबाट सुरु भएको नेपाल र भारतका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटि (जेएससी)को भर्चुअल बैठक सकिएको छ। शुक्रबार अपराह्न बैठक सकिएपनि कुनै ठोस सहमतिमा हस्ताक्षर भने नभएको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेका अनुसार बैठक सकिएपनि माइन्युटमा हस्ताक्षर भने भएन। ‘आज कुनै पनि सहमतिमा हस्ताक्षर भएन। भोलि भारतीय पक्षले ड्राफ्ट पठाउने भनेको छ। त्यसमा छलफल भएर एक दुई दिनभित्रै हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अन्तरदेशीय प्रशारणलाइन, विद्युत व्यापार र इनर्जी बैकिङसम्बन्धी विगतमा भएका सहमति र त्यसको कार्यान्वयनको अवस्था तथा प्रगतिबारे छलफल भएको हो। सकारात्मक कुराहरू भएका छन्। माइन्युटमा हस्ताक्षर भएपछि हामी यस विषयमा आधिकारिक रुपमा जानकारी गराउँछौं।'
ऊर्जा सचिव घिमिरेका अनुसार गतवर्ष भारतको बैंङ्लोरमा बसेको जेएससीको सातौं बैठकमा उठाइएका एजेन्डाको प्रगति र तिनै विषयमा भएको प्रगतिबारे आठौं बैठकमा छलफल भएको हो। जेएससीको सातौं बैठकमा मख्यगरी नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत व्यापार तथा बजार, अन्तर्देशीय प्रशारणलाइनको अवस्था तथा इनर्जी बैंकिङलगायत विषयमा छलफल भएको थियो।
जेएससीको आठौं बैठकमा प्रशारणलाईनतर्फ मुख्यगरी न्यु बुटवल–गोरखपुर ४०० केभी प्रशारणलाईन, इनरुवा-न्यु पूर्णिया ४०० केभी प्रशारणलाईन, न्यू नैनतवा–मनैया १३२ केभी प्रसारणलाइन, र न्यु लम्की–बरेली ४ सय केभी प्रशारणलाइनबारे छलफल भएको जनाईएको छ।
त्यस्तै, विद्युत व्यापारतर्फ टनकपुर सन्धिअनुसार नेपालले पाउनुपर्ने विद्युतबारे पनि छलफल भएको छ। त्यस्तै, भारतसँगको इनर्जी बैंकिङ सम्बन्धी अवधारणालाई पूर्ण रूपमा पालनाका लागि पहल गर्ने तथा यससम्बन्धी कार्यविधिहरू बनाई कार्यान्वयनमा ल्याउने र नेपाल–भारत–बंगलादेश त्रिदेशीय विद्युत व्यापारका लागि भारतले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।