याङ्गुन– उत्तरी म्यानमारको एक क्षेत्रमा सेना र जातीय विद्रोहीबीच झडपहरु जारी नै रहेकोले नागरिक विस्थापित हुने क्रम नरोकिएको बताइएको छ। विगतका केही महिनादेखि उक्त क्षेत्रमा जातीय विवाद चर्किएको छ।
सेनाले सो क्षेत्रमा अहिले पनि धरपकड जारी नै राखेको र जसका कारण भएको झडपमा हजारौँ सर्वसाधारण नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन्।
राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए)का प्रमुख मार्क कट्सले चीनको सीमा क्षेत्र नजिकै रहेको म्यानमारको कचिन राज्यमा सानातिना झडपहरु अहिले पनि भएका र यसले गर्दा उक्त क्षेत्रबाट हजारौँ मानिस विस्थापित भएको जानकारी दिए।
झडपका घटनाका कारण विस्थापित १५ हजार नागरिक र आन्तरिक रूपमा विस्थापित भएर विभिन्न शिविरमा बसेका ९० हजार गरी उक्त क्षेत्रमा अहिलेसम्म १ लाखभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन्।
स्थानीय संघसंस्थाले दिएको जानकारीअनुसार विद्रोहीको झडप भएका इलाकामा अझै कैयौँ सर्वसाधारण फसेका र मानवीय सहयोगको याचना गरिरहेका छन्।
कट्सले पछिल्ला झडपका घटनापछि उनीहरूलाई सुरक्षाको अनुभूति दिनुपर्ने अवस्था रहेको र उनीहरु अहिले नै घर फर्किने अवस्था पनि नरहेको बताए।
ओसिएचएले प्राप्त रिपोर्टमा केही नागरिकसमेत मारिएका भन्ने स्थानीयको दावीलाई भने अझै पुष्टि गरिसकेको छैन। यसबारे सरकारले भने हालसम्म केही बताएको छैन।
उक्त क्षेत्रमा राष्ट्रसंघीय अधिकारीहरुले पनि काम गरिरहेका छन्। उनीहरुले जातीय विवाद गरी नागरिकलाई धरपकड नगर्न बारम्बार आग्रह गरिएको जनाएका छन्।
तर यस विषयमा भने सरकारले केही प्रतिक्रिया दिएको छैन। मानवअधिकारवादीले सरकारी सुरक्षा निकायलाई जातीय अधिकारको सम्मान गर्न र धरपकड नगर्न आग्रह गरिरहेका छन्।
रोहिंग्याको अवस्था पनि उस्तै
गत अगष्ट महिनामा राखिन राज्यबाट लखेटिएका लाखौँ म्यान्माली रोहिंग्याहरुको बारेमा पनि सरकारले केही गर्न सकिरहेको छैन।
उनीहरु बंगलादेशमा शरणार्थी शिविरमा बसिरहेका छन्। उनीहरुलाई स्वदेश फर्काउने मिति तथा व्यवस्थाको बारेमा अझै टुंगो लाग्न सकेको छैन।
म्यानमारको सरकारले उनीहरुलाई स्वदेश फर्किन आग्रह गरिरहेको छ तर पनि उनीहरु सरकारी सुरक्षा निकाय तथा सेनाबाटै आफूहरु सुरक्षित नरहेको र यसका कारण आफूहरु स्वदेश फर्किनसक्ने अवस्था पनि नरहेको बताएका छन्।
हालैमात्र म्यानमार र बंगलादेशको भ्रमण गरेका राष्ट्रसंघीय अधिकारीले पनि म्यानमारलाई आफ्ना शरणार्थीलाई स्वदेश फर्किने वातावरण बनाउन आग्रह गरेका थिए ।
त्यसक्रममा म्यान्माली विदेशमन्त्री आङ सान सुकीले ती शरणार्थी स्वदेश फिर्ता ल्याउने काममा राष्ट्रसंघको संलग्ना रहेमा पनि आफ्नो कुनै आपत्ति नरहने बताएकी थिइन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।