काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँग छलफल गर्ने भएका छन्। अधिकारीले बुधबार सम्पूर्ण सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग वर्तमान बैंकिङ अवस्थाबारेमा छलफल गर्ने भएका हुन्।
कोभिड १९ ले पारेका प्रभाव तथा अन्य विविध क्षेत्रका विषयमा अन्तर्क्रिया गर्ने भएका हुन्। अधिकारीले यस अगाडि कात्तिक १६ गते ७७ वटै जिल्लाका उद्योगी व्यवसायी तथा प्रतिनिधिसँग मौद्रिक नीतिको कार्यान्वयन र समसामयिक आर्थिक गतिविधिसम्बन्धी अन्तर्क्रिया गरेका थिए।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको समीक्षा गरेर मौद्रिक नीतिबाट आवस्यक संशोधन गर्ने तयारी गरिरहेको छ। त्रैमासिक समीक्षामार्फत् वर्तमान अवस्थालाई संबोधन गर्ने तयारीमा राष्ट्र बैंक जुटेको हो। राष्ट्र बैंकले कात्तिक दोस्रो सातासम्ममा त्रैमाशिक समिक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
पहिलो त्रैमासिक अवधिमा के-कस्ता व्यवस्था आवश्यक पर्ने तथा के-के कुराहरु थपघट गर्ने भन्ने विषयमा छलफल हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले नियमित रुपमा यस्तो कार्य गरिरहेको हुन्छ।
यस वर्षको मौद्रिक नीति ल्याउनु अगाडि तत्कालीन कोभिडको प्रभावलाई हेरेर मौद्रिक नीति जारी गर्ने र कोभिडको प्रभावको अवस्थालाई हेरेर संसोधन गर्ने योजनामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।