काठमाडौं- एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांस दिने घोषणा गरेको छ। बैंकले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनका लागि नगद लाभांस दिने प्रस्ताव अगाडि सारेको हो। बैंकको ४६० औ सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांस दिने प्रस्ताव गरेको हो।
उक्त लाभांस नेपाल राष्ट्र बैकबाट स्वीकृत भए पनि बैंकले साधारणसभामा प्रस्तुत गर्ने छ। साधारणसभाबाट पारित भए सँगै शेयरधनीले बोनस शेयर शेयरधनीको खातामा पठाउने छन्। दोस्रो बजारमा आफ्नो शेयर मूल्य बढाउनुका साथै चुक्ता पुँजी बलियो बनाउन बैंकले बोनस शेयरलाई जोड दिएको हो।
बैंकको हालको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। प्रस्तावित एक अर्ब ८४ करोड रुपैयाँ बोनस शेयर पछि बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत वर्ष तीन अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यस वर्ष कर प्रयोजनसहित जम्मा एक अर्ब ९४ करोड रुपैयाँ शेयरधनीहरुलाई वितरण गर्नेछ।
नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकले साना कर्जामा ध्यान केन्द्रित गरेको छ। बैंकले जम्मा कर्जा लगानीको ८६ प्रतिशत साना तथा मझौला कर्जामा केन्द्रित गरेको छ। सबैभन्दा धेरै कर्जा लिने १० ग्राहकको पोर्टफेलियो जम्मा ५ प्रतिशत मात्रै रहेको बैंकले उल्लेख गरेको छ। वाणिज्य बैंकहरूमध्ये आक्रामक रुपमा अगाडि बढिरहेको एनआइसी एशियाले शाखा सञ्जालदेखि ग्राहकको संख्या पनि उल्लेख्य मात्रामा बढाइरहेको छ।
पछिल्लो समय आधार ब्याजदर तल झारेर अन्य बैंकका ऋणी खोस्ने काममा अगाडि छ। अन्य बैंकमा महंगो ब्याजदरमा कर्जा लिइरहेका ऋणीलाई फकाएर खोस्ने काम गरिरहेको भन्दै बैंकर्स एसोसिएसनमा समेत केही समय अगाडि ठूलो बहस भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।