फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने क्रममा रक्षा मन्त्रालय आफैसँग राखेका छन्। रक्षा मन्त्रालय सम्हालिरहेका ईश्वर पोखरेललाई उप्रधानमन्त्रीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिइएको छ।
दुई जना नयाँ अनुहार ल्याउने क्रममा नेकपा महासचिव विष्णु पौडेलले शक्तिशाली अर्थ मन्त्रालय पाएका छन्। डा युवराज खतिवडा अर्थमन्त्रीबाट हटेसँगै उक्त मन्त्रालयमा मन्त्रीविहिन थियो।
पूर्व एमालेको कार्यालय सचिव समेत रहेका कृष्णगोपाल श्रेष्ठले सहरी विकास मन्त्रालय पाएका छन्। तत्कालीन उपेन्द्र यादवको नेतृत्वमा रहेको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी मन्त्रालयमा राज्यमन्त्री मात्रै थिए। सहरी विकास मन्त्रालय समाजवादी दलबाट मोहम्मद इस्तियाक राईले छोडेपछि खाली थियो। राज्यमन्त्रीमा नेकपाकै रामवीर मानन्धर छन्।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्हालिरहेका पार्वत गुरुङलाई शक्तिशाली मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनले सम्हालिरहेको मन्त्रालयमा नयाँ अनुहार लिलानाथ श्रेष्ठ आएका छन्।
दोश्रो संविधानसभा निर्वाचनमा नेकपा अध्यक्ष प्रचण्ड सिराहा-५ बाट उम्मेदवार बन्दा श्रेष्ठ प्रतिस्पर्धी थिए। प्रचण्डसँग उनी हजारभन्दा कम मतान्तरले पराजित भएका थिए। गत चुनावमा भने सिराहा-३ बाट उनी नेकपाबाट उम्मेदवार बनी निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।