काठमाडौं-दक्षिण कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले उत्पादन गरेको विद्युतीय कार ''कोना' मा आगलागी समस्या देखिएपछि उत्तर अमेरिका, युरोप, चीन र अन्य बजारबाट समेत फिर्ता ल्याउने भएको छ। केही दिनअघि हुन्डाईले कोनामा प्रयोग भएको ब्याट्रीका कारण आगो लाग्ने उच्च जोखिम देखिएको भन्दै फिर्ता लिने घोषणा गरेको थियो।
हुन्डाईले उत्तर अमेरिका, युरोप, चीन तथा अन्य बजारबाट करिब ५१ हजार वटा कोना फिर्ता लिने भएको कोरियाली समाचार संस्था योनहापले जनाएको हिन्दुस्तान टाइम्सले लेखेको छ। दक्षिण कोरियाको यातायात मन्त्रालयका अनुसार कोना कारमा प्रयोग भएका हाई–भोल्टेज ब्याट्रीमा आगो लाग्ने जोखिम उच्च रहेकाले कम्पनीले फिर्ता मगाएको हो।
हाईभोल्टेज खराब ब्याट्री प्रयोग भएकाले कारमा आगलागीको जोखिम बढाउने हुन्डाईले जनाएको छ। के कारणले आगलागीको जोखिम बढेको हो त्यो पत्ता लगाएर उपभोक्तालाई सम्बोधन गरिने हुन्डाईको भनाइ छ।
कोना इलेक्ट्रिकमा आग्लागीका १३ वटा कारण औंल्याइएको छ। हुन्डाई कोनामा एलजी चेमले बनाएको ब्याट्री प्रयोग गरिँदै आएको छ। तर ब्याट्री उत्पादकले भने ब्याट्री सेलका कारण आगलागीको जोखिम नबढाएको दाबी गरेको छ। यसको कारण पत्ता लगाउन भविष्यमा हुन्डाईसँग अनुसन्धानमा लाग्ने एलजी चेमले जनाएको छ।
हुन्डाईले सेप्टेम्बर २०१७–मार्च २०२० मा बनेका कोनामा आगलागीको उच्च जोखिम देखिएपछि फिर्ता लिने बताएको हो। हुन्डाईले अघिल्लो साता कोरियामा बिक्री भएका २५ हजार ५ सय ६४ वटा कोना इलेक्ट्रिक कार फिर्ता लिन अक्टोबर १६ देखि सुरू गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो।
हुन्डाई सोमबार जनाए अनुसार नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए)संगको सहकार्यमा कोना इलेक्ट्रिक कार फिर्ता गर्ने सूचना प्रकाशित गर्ने तयारी भइरहेको छ। अमेरिकी बजारमा बिक्री भएका कोना किन्नेहरुलाई सूचना प्रकाशित भएसँगै क्रमिक रुपमा जानकारी गराइने हुन्डाईको भनाइ छ।
हुन्डाईले युरोपबाट ३७ हजार ३ सय ६६ वटा र उत्तर अमेरिकाबाट ११ हजार १ सय ३७ वटा कोना इलेक्ट्रिक फिर्ता लिने छ। चीनलगायत अन्य बजारबाट फिर्ता लिने कोना इलेक्ट्रिकको संख्या भने हुन्डाईले खुलाएको छैन।
हुन्डाईले आगलागीको उच्च जोखिम भई फिर्ता लिन लागिएका ७७ हजारभन्दा बढी कोना इलेक्ट्रिकको मर्मतका लागि ५२ करोड २१ लाख अमेरिकी डलरभन्दा बढी खर्च लाग्ने अनुमान केबी इनमेस्टमेन्ट एन्ड सेक्युरिटिज्ले गरेको छ।
सोमबार हुन्डाई मोटर्स र एलजी चेलको सेयर क्रमशः ०.८ प्रतिशत र २ प्रतिशत घटेको हो। हुन्डाईका कोना इलेक्ट्रिक कार नेपाली बजारमा समेत बिक्री हुँदै आएको छ। नेपाली बजारमा हुन्डाईका कार लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।