काठमाडौं- क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणमा असन्तुष्टी जनाएको छ। खेलाडीको वर्गीकरणको आधार प्रस्ट हुनुपर्ने भन्दै संघले निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ।
सिप्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ध्यानाकर्षण गराउँदै भनेको छ- ‘वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अबलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी छ। यसलाई तर्कसम्मत र त्रुटिरहित बनाउन तथ्यपरक, बस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता देखिएको छ।’
सिप्यानले क्रिकेटलाई व्यावसायिक बनाउन आयस्रोतलाई व्यवस्थित बनाउनुपर्ने र खेलाडीको उच्च मनोबल बनाउन आवश्यकता रहेको उल्लेख गर्दै विभेदको अनुभूति हुने वातावरणलाई निरुत्साहित गर्नुपर्नेमा जनाएको छ।

गएको ६ गते चितवन भरतपुरमा बसेको नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरण गर्दै केन्द्रीय सम्झौतामा आबद्ध गरेको थियो। जसमा केही खेलाडीको वर्गीकरण बिग्रिएको र केही पर्नुपर्ने खेलाडी नपरेको भन्दै आवाज उठिरहेको छ।
यस्तै सिप्यानले पुरुष तथा महिला क्रिकेट खेलाडीको जीवन तथा दुर्घटना बीमाका दायरालाई फराकिलो बनाउँदै त्यसलाई छिटो कार्यान्वयन गर्न पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।