काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय सिनियर पुरुष र महिला क्रिकेट खेलाडीलाई केन्द्रीय सम्झौतामा राख्ने भएको छ। चितवनमा मंगलबार बसेको क्यानको बैठकले महिलातर्फ १९ र पुरुषतर्फ १८ खेलाडीलाई केन्द्रीय सम्झौतामा राख्ने निर्णय गरेको हो।
यसअघि पुरुषतर्फ ग्रेड छुट्याएर सम्झौतामा राखेको भएपनि महिलातर्फ भने क्यानको यो पहिलो कदम हो। पुरुषतर्फ ग्रेड ‘ए’ मा पर्ने खेलाडीको मासिक पारिश्रमिक ५० हजार तोकिएको छ। त्यस्तै, ‘बी’ ग्रेडमा पर्ने खेलाडीले मासिक ४० हजार पाउँदा 'सी' ग्रेडमा पर्ने खेलाडीले ३० हजार मासिक तलब पाउने छन्।
पुरुषको तुलनामा महिलाको मासिक तलब निकै थोरै छ। ‘ए’ ग्रेडमा पर्ने महिला खेलाडीले १५ हजार मासिक तलब पाउँदा ‘बी’ ग्रेडमा पर्ने खेलाडीले १२ हजार र ‘सी’ ग्रेडमा पर्ने खेलाडीले मासिक १० हजार तलब पाउने क्यानले निर्णय गरेको छ।
त्यस्तै, क्यानले यही वर्षको मसिंरमा महिला तथा पुरुषतर्फको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। आइसिसीसँग समन्वयन गरी यही वर्षको डिसेम्बरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज गर्ने गरी आवश्यक तयारी थाल्ने पनि निर्णय गरेको छ। त्यस्तै, क्यानको बोर्ड बैठकले यही असोज २८ गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ।
पुरुष क्रिकेट टिमको अभ्यास थाल्नको लागि आवश्यक तयारी थाल्नेदेखि ललितसिंह भण्डारीको उपचारमा आर्थिक सहयोग गर्ने पनि क्यानको बोर्ड बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।