भीमटार- सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका १२ भीमटारमा २०७२ वैशाख १२ को भूकम्पले भत्काएको माझी बस्ती निर्माण भएको छ। अन्तर्राष्ट्रिय परोपराक संस्था एसओएस बालग्रामले भीमटारमा भत्किएका घरहरुमध्ये निर्माण गरिदिएको १ सय ७७ वटा भूकम्पप्रतिरोधी घर आज राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीयबासीलाई हस्तान्तरण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले भीमटारमा बनेको नयाँ सामुदायिक भवनको उद्घाटन गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का अध्यक्ष कमल दनुवारलाई बस्तीको साँचो हस्तान्तरण गरिन्। राष्ट्रपति भण्डारीले भीमेश्वर माविको नयाँ भवन उद्घाटनका साथै अवलोकन गरिन्।

एसओएसले भीमटारमा कार्यक्रम आयोजना गरी १ सय ७७ घर, भीमटार सामुदायिक भवन र भीमेश्वर माविको विद्यालय भवन राष्ट्रपतिमार्फत स्थानीयलाई हस्तान्तरण गरेको हो।

राष्ट्रपति भण्डारीले एसओएसले भीमटारमा निर्माण गरिदिएका घर र विद्यालयले यहाँका बासिन्दालाई ठूलो सहयोग मिलेको बताइन्। विद्यालय भवन उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले सिन्धुपाल्चोककै विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने बाचासमेत गरिन्। उनले भूकम्पपछि बन्द भएको चीनसँगको तातोपानी नाका खुलाउनका लागि पहल गर्ने बताइन्।

राष्ट्रपति भण्डारीले एसओएसले निर्माण गरिदिएका घरको समेत अवलोकन गरेकी थिइन्। उनले घरका परिवार सदस्यसँग केहीबेर भलाकुसारी समेत गरिन्।
कार्यक्रममा सिन्धुपाल्चोक २ का सांसद एवं कानुनमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक १ का सांसद एवं माओवादी केन्द्रका नेता अग्नि सापकोटा, प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल लगायतको उपस्थिति थियो। उनीहरुले सिन्धुपाल्चोकलाई भूकम्पले ठूलो क्षति पुर्यातएको उल्लेख गर्दै पुनःनिर्माणसँगसँगै यहाँका जनताको आयआर्जन र समृद्धिका कार्यक्रमहरु अघि बढाउने प्रतिबद्धता जनाए।

कार्यक्रममा एसओएस बालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष शिद्धार्थ कौलसहित बालग्राम नेपालका प्रतिनिधिहरुको सहभागिता थियो।
एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले भूकम्पपछि घरहरु निर्माणका लागि अत्यन्त क्षति पुगेको र निम्नवर्गीय माझी र दनुवारको बाहुल्य रहेको भीमटारलाई रोजेको बताए। उनले भीमटारमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको डिजाइन अनुसारकै मजबुत घरहरु निर्माण गरेको जानकारी दिए।
एसओएस बालग्रामका सल्लाहकार शंकर प्रधानाङ्गका अनुसार भीमटारमा घर, सामुदायिक भवन र विद्यालय भवन निर्माणका लागि २७ करोड रुपैयाँ खर्च भएको छ। ती घर बनाउनुुअघि बालग्रामले सम्बन्धित घरधनीलाई सहभागी गराई डकर्मी तालिमसमेत दिएको उनले जनाए।

यसैगरी बालग्रामले दोलखाको लाकुँरीडाँडामा पनि भूकम्पपीडितका लागि १ सय ७ घर, सामुदायिक भवन र विद्यालय भवन निर्माण गरिदिएको प्रधानाङ्गले जानकारी दिए। यस्तै, बालग्रामले काभ्रेको रयालेमा पनि एउटा सामुदायिक विद्यालय भवन बनाइदिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।