काठमाडौं- विश्वकै सबैभन्दा महँगो मानिने इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा शनिबार बेलुका पहिलो खेल हुँदैछ। पहिलो सिजनदेखि नै क्रिकेट प्रेमीमाझ चर्चा पाइरहेको आइपिएलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी हुन थालेदेखि त नेपालभित्र विशेष चासो छ।
शनिबार बेलुका उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ। अबुधाबीमा उद्घाटनको दिन एक खेल हुँदा दोस्रो दिन सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले प्रिती जिन्टाको किंग्स इलाभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ।
चर्चित र अनुभवि खेलाडी उछिन्न जति कठिन छ, उति नै कठिन यसपटक सन्दीपलाई मुख्य प्रशिक्षक रिकी पोन्टिङको विश्वास जित्नुमा हुनेछ। यो सिजन आइपिएलको खेलले आउँदो संस्करणमा सन्दीपको थप यात्रा कोरिने छ।
सन्दीप लामिछाने तेस्रो पटक आइपिएल खेल्दै छन्। आइपिएल टिम दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो पटक आइपिएल खेल्न लागेका सन्दीप भरखरै सिपिएलबाट युएई पुगेका हुन्। अहिले क्वारेन्टाइनमा बसिरहेका सन्दीपको लागि यो आइपिएल निर्णायक समेत हुनेछ।

करिब एक महिनाअघि नै युएई पुगिसकेको दिल्लीले लामो समयदेखि टिम अभ्यास गरिरहेको छ। त्यसैले पहिलो खेलमा नै सन्दीप टिमसँग नहुने सम्भावना पनि बढि छ।
कोरोना भाइरस (कोभिड १९) ले ठूलो प्रभाव पारेको आइपिएलमा सन्दीपले खेल्न पाउँछन्, पाउँदैन, खेल्न पाए कति खेल खेल्छन्? कस्तो प्रदर्शन रहला भन्दै विश्लेषण गर्न थालिएको छ भने त्यही अनुसारको टिका टिप्पणी पनि सुरु भएका छन्। सन्दीपले खेल्न त निश्चित नै पाउँछन् नै तर कति खेल खेल्छन्? भन्ने चाहिँ उनको प्रदर्शनमा नै भर पर्छ।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) टिम जमैका तलावाजका मुख्य खेलाडी रहँदै सबै खेल खेलेका सन्दीप सिपिएल पछि झनै सबैको नजरमा पर्न थालेका छन्। उनको प्रर्दशन पनि त्यस्तै किफायती थियो। १० इनिङ्सबाट १२ विकेट लिएका सन्दीपले गुयना अमेजन वारियर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए। उनले १८ बल डट फालेका थिए। आइपिएलमा पनि यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ।
तर सन्दीपलाई जति सजिलो सिपिएलमा प्लेइङ सेटमा पर्नु थियो। त्यो सहजता दिल्ली टिममा हुने छैन।

चार स्पिनरको लडाइँ
दिल्लीसँग अहिले चार राम्रा स्पिनर छन्। जसमा विदेशी खेलाडीमा सन्दीप रहँदा भेट्रान खेलाडी अमित मिश्र, रविचन्द्रन अश्विन र अक्षर पटेल छन्। तर सन्दीपको प्रतिस्पर्धा अक्षर पटेल भन्दा पनि अमित र अश्विनसँग हुनेछ।
अमित मिश्राले खेलेका अन्तिम प्रतियोगिता भनेको २०१९ को नोभेम्बरमा सम्पन्न सियद मुस्ताक अली ट्रफि हो। जहाँ हरियाणाका कप्तानसमेत रहेका अमितले १२ खेलबाट ६ विकेट लिए। यो प्रतियोगितामा अमितको प्रदर्शन विर्सन लायक रह्यो। हुन त ३७ वर्षीय लेग स्पिनर अमितको प्रदर्शन दिनदिनै घट्दो छ। सन्दीपले यही बेला अमितलाई उछिन्दै राम्रो प्रदर्शन गर्न सक्नु पर्छ।
तर गत सिजनको आइपिएलमा भने अमितको ओझेलमै सन्दीप परे। यो पटक भने सन्दीपलाई टिमले कतिको विश्वास गर्छ त्यसमा भर पर्छ। सन्दीपलाई थप चुनौती हुन्, रविचन्द्रन अश्विन। भारतीय क्रिकेट टिममा राम्रो गरेका अश्विनको पछिल्लो खेल तारिफयोग्य नै छ। भारत र बंगलादेशको टेष्ट सिरिजको कारण अश्विनले २०१९ को टि–२० फम्र्याटको सियद मुस्ताक अली ट्रफीमा २ खेल मात्रै खेल्न भ्याए। २ खेलमा ३ विकेट लिएका उनको ब्याटिङ पनि राम्रै छ।
२०१९ को आइपिएल संस्करणमा अश्विनले किंग्स इलाभेन पञ्जाबबाट १४ खेलमा १५ विकेट लिएका थिए। ३४ वर्षीय अश्विनले भन्दा राम्रो खेल्दै सन्दीप टिममा पर्नु पर्ने हुन्छ। त्यसैले अश्विनको आगमनले सन्दीपको प्लेइङ सेटमा पर्ने सम्भावना झनै कमजोर बनेको हो।
पहिलो रोजाइको भिडन्त
सन् २०१८ मा भएको अक्सनबाट त्यो बेलाको दिल्ली डियरडेभिल्सले सन्दीपलाई २० लाख भारुमा अनुबन्धित गर्यो। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा यो सन्दीपको सुरुवाती यात्रा थियो। त्यसपछि उनी विश्वका प्राय सबै लिग खेले। पैसा पनि कमाए। सबै क्रिकेट विश्लेषक र टिमको नजरमा सन्दीप पर्दै गए। खेल निखारिँदै गयो।
तर त्यो डेब्यु आइपिएलमा सन्दीपले दिल्लीको सुरुवाती ११ खेल बेन्च मै बिताए। दिल्ली प्लेअफबाट बाहिरिएपछि अन्तिम तीन खेलमा भने सन्दीपले मौका पाए। प्रदर्शन पनि सन्तोषजनक नै भयो। ३ खेलबाट ५ विकेट लिन भ्याए।

२०१९ को संस्करणमा भने सन्दीपले ६ खेल खेल्न पाए। तर यो संस्करणमा पनि टिमले सन्दीपलाई खासै विश्वास गरेन। दिल्लीको महत्वपूर्ण खेलमा सन्दीपले बेन्चमै बिताए। ६ खेलबाट ८ विकेट लिए पनि सन्दीपले प्लेअफको इलिमिनेटर र क्वालिफायर टु को खेलमा प्लेइङ सेट बाहिरै रहेका थिए। विगतका दुई संस्करणमा सन्दीपलाई टिमले पूर्ण विश्वास गरेको पाइँदैन। त्यसैले यो आइपिएलमा भने सबैको मन जित्दै उत्कृष्ट लयलाई समात्नु पर्छ। नत्र विगतमा जस्तै सन्दीप यो पटक पनि अधिकांश समय बेञ्चमै रहनेछन्।
प्लेइङ इलाभेनमा पर्न सन्दीपसँगै मार्कस स्टोइनिस, सिमरोन हिटम्यर, एनरिच नोर्टजे, कागिसो रबडा, ड्यानियल साम्स, किमो पाउल र एलेक्स क्यारी उच्च प्रतिस्पर्धामा छन्। यी आठ विदेशी खेलाडीमध्ये एउटा खेलमा चार जनाले खेल्न पाउने नियम छ।
यी मध्ये टिममा पर्न स्पिनर सन्दीपलाई निकै गाह्रो हुने सबैले आँकलन गरिरहेका छन्। अमित र अश्विनको स्पिनर जोडी हुँदा विदेशी कोटामा स्पिनर नै थप्नुभन्दा अर्का ब्याट्सम्यान वा अलराउडर हाल्ने दिल्लीको रणनीति पूरानै हो।
तर क्रिकेट विश्लेषक तथा पूर्वभारतीय क्रिकेटरहरु भने सन्दीप पहिलो रोजाइकै खेलाडी भएको तर्क गर्छन्। यो तर्क र विश्लेषणले सन्दीपका समर्थक र नेपाली क्रिकेट प्रेमीलाई केही सान्त्वना त देला। तर यकिन हुन सक्ने विश्वासको आधार देखिँदैन।
पूर्व भारतीय क्रिकेटरहरु अजित अग्राकार, आकाश चोपरा, दीप दासगुप्त र क्रिकेट पत्रकार रौनक कपुर सन्दीप दिल्लीको विदेशी खेलाडीको कोटामा शीर्ष चारमा पर्ने दाबी गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।