काठमाडौं- कोरोना भाइरस (कोभिड १९) ले प्रभावित बनेको इन्डियन प्रिमियर लिग (आइपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता युएईमा आउँदो शनिबार सुरु हुँदैछ। प्रतियोगिता नजिकिँदै गर्दा सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको प्लेइङ सेटमा कुन कुन विदेशी खेलाडी पर्छन् भन्ने बहस सुरु भएको छ।
अहिलेको १३औं संस्करणको आइपिएल विगतको भन्दा भिन्न छ। फरक मैदान र कठिन परिस्थितिका कारण पनि क्रिकेट आइपिएलको स्वाद नयाँ हुनेछ। विश्वको सबैभन्दा महँगो क्रिकेट लिग धेरै हेरिने प्रतियोगितामध्ये एक हो।
कोरोना माहामारीले प्रभावित भइरहेको प्रतियोगितामा अहिले अनेक सावधानी अपनाएर तयारी पूरा भएको छ। यसपटक आइपिएलको विजेता कुन टिम होला? कुन खेलाडीले सर्वाधिक रन बनाउलान्? कसले बढी विकेट लिन्छन्? अथवा प्लेइङ सेटमा कुन कुन खेलाडी पर्छन् जस्ता अनुमान लगाउन थालिएको छ।
गत संस्करणमा प्लेअफसम्मको यात्रा तय गरेको दिल्ली यो पटकको पनि उपाधि दाबेदार टिम हो। विदेशी खेलाडीमा सन्दीप लामिछाने, मार्कस स्टोइनिस, सिमरोन हिटम्यर, एनरिच नोर्टजे, कागिसो रबडा, ड्यानियल साम्स, किमो पाउल र एलेक्स क्यारी छन्। यी आठ विदेशी खेलाडीमध्ये चार खेलाडीले एउटा खेलमा खेल्न पाउने नियम छ।
यी मध्यै टिममा पर्न स्पिनर सन्दीपलाई निकै गाह्रो हुने देखिन्छ। रविचन्द्रन अश्विनको आगमनले सन्दीपले टिममा कम मौका पाउने तर्क भइरहेको हो। भेट्रान खेलाडी अमित मिश्र र अश्विनको जोडीले सन्दीपलाई छायामा पार्ने अनुमान भइरहे पनि सन्दीपको पछिल्लो सिएपिएल प्रदर्शनले उनलाई साथ दिने नै छ। युएईको पिचबारे पनि सन्दीप जानकार छन्।
विदेशी खेलाडीमध्ये दिल्लीको टिममा पहिलो रोजाईमा को को चार खेलाडी पर्छन्? भनी भारतीय पूर्व क्रिकेटर, विश्लेषक तथा क्रिकेट सम्बन्धि कलम चलाइरहेका पत्रकारलाई क्रिकइन्फोले प्रश्न गरेको थियो। जहाँ सन्दीपले खेल्ने सम्भावना उच्च रहेको समेत क्रिकेट विश्लेषकको तर्क छ। यति मात्रै होइन, स्पिनर सन्दीप टिमको लागि यो पटक सर्वाधिक सफल खेलाडी समेत हुने केही विश्लेषक तथा पूर्व भारतीय क्रिकेटरको विश्लेषण छ।
दिल्लीको पहिलो रोजाईमा पर्ने चार विदेशी खेलाडीहरु कसले कसलाई रोजे?
अजित अग्राकर, पूर्व भारतीय क्रिकेटर - कागिसो रबाडा, सन्दीप लामिछाने, सिमरन हिटम्यर र ड्यानियल साम्स
गौतम गम्भिर, पूर्व भारतीय क्रिकेटर - एनरिच नोर्टजे, कागिसो रबडा, सिमरन हिटम्यर र मार्कस स्टोइनिस
आकाश चोपरा, पूर्व भारतीय क्रिकेटर - एलेक्स क्यारी, सन्दीप लामिछाने, कागिसो रबडा, सिमरन हिटम्यर
दीप दासगुप्त, पूर्व भारतीय क्रिकेटर - मार्कस स्टोइनिस, कागिसो रबडा, किमो पाउल, सन्दीप लामिछाने
डस्टिन सिल्गार्डो, क्रिकेट विश्लेषक - कागिसो रबडा, मार्कस स्टोइनिस, सिमरन हिटम्यर, ड्यानियल साम्स
रौनक कपुर, पत्रकार, विश्लेषक - कागिसो रबडा, सिमरन हिटम्यर, सन्दीप लामिछाने, ड्यानियल साम्स
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।