सुर्खेत– २०७१ साउन २९ मा भेरी नदी उर्लिएर आयो, उर्लिएको भेरीले हेर्दाहेर्दै पञ्चपुरी–५ बाबियाचौर सुर्खेतकी शान्ता खत्रीको घरखेत बगायो। त्यसयता शान्ता न दिनमा शान्तसँग बस्न सक्छिन् न रातमा चैनले निदाउन पाउँछिन्। ‘सपनामा समेत पटक–पटक बाढी आएर घरखेत बगाएको देख्छु,’ उनले भनिन्, ‘बाढीले सपनामा पनि छोडेन।’
बाढीको बिनास र त्रासले विगत चार वर्षदेखि उनको निद्रा नै खोसिएको छ। भन्छिन्, ‘हामी गरिबका घरमा खुसी कहिल्यै पाहुना बनेर समेत आएन, तर दुःखले भने सपनामा पनि आएर सताइरहन्छ।’
बाढीले घरजग्गा बगाएपछि विस्थापित भएको शान्ताका परिवार यतिबेला पञ्चपुरीकै तिखाकुनास्थित बाढीपीडितहरुको अस्थायी शिविरमा बसिरहेको छ। त्रिपालले बारेर, त्रिपालले नै छाएको अस्थायी टहराको बास कहिलेसम्म रहने हो उनलाई थाहा छैन। कसैले आफ्नो दुःख देख्ला भन्ने आस नभए पनि पुनःस्थापनाकै पखाईमा उनीहरु बसिरहेका छन्।
हिँउद बर्खै पिरलो
चार बर्खा त्रिपालमै कटाएका पञ्चपुरीकै पदम नेपालीलाई अर्को बर्खा नजिकै आइरहँदा चिन्ता बढेको छ। बर्खाको समयमा त्रिपालको बास निकै कष्टपूर्ण हुने गरेको उनी बताउँछन्। उसो त बाढीपीडितका लागि बर्खा मात्र होइन जुनसुकै मौसम पनि सहज छैन। पदम भन्छन्, ‘बर्खामा अलि बढी चिन्ता हुन्छ, तर हाम्रा लागि दिउँद पनि उस्तै हो बर्खा पनि उस्तै।’
तिखाकुनास्थित अस्थायी शिविरमा बस्दै आएका पदमलाई अहिलेको गर्मीयामले पनि पिरलो थपेको छ। चैत लागेयता हावा र हुरीले समस्यामा पारेको उनी बताउँछन्। छिनछिनमै चल्ने हुरीबतासले कतिखेर टहराको छानो उडाउने हो भन्ने चिन्ताले उनलाई पिरोलिरहन्छ। ‘त्रिपाल पनि पुराना भएर च्यातिएका छन्। बर्खामा पानी चुहिएर सताउँछ, दिउँदमा शीत चुहेर रातभर सुत्न पाइँदैन,’ उनले भने, ‘गर्मीमा अधिक गर्मी भएर दुःख पाइरहेका छौं, त्यसैमाथि हावाहुरीले छानो नै उडाउला भन्ने डर उस्तै हुन्छ।’
२०७१ साउन २९ मा भेरी नदीमा आएको बाढीले शान्ता र पदमजस्तै सुर्खेतका ९ सय ७१ परिवारको दैनिकी यसैगरी त्रासमा बितिरहेको छ।
पुनःस्थापनाको पखाई
बाढी आएको बेला घरखेत बगाउँदा त्यतिबेला विभिन्न निकायबाट पाएको सहयोगले पीडितलाई राहत भएको थियो। शान्तालाई लागेको थियो, दुःखमा पर्दा हेर्ने सबै छन्। तर, समय बित्दै ४ वर्ष बितिसके उनी भने विस्थापित शिविरमै छिन्।
विस्थापित शिविरमा बसेदेखि सरकारी तथा गैरसरकारी निकायले सहयोग गरे। तर, पुनःस्थापनाका लागि कुनै पहल नभएको शान्ताको गुनासो छ। ‘सुरुमा त मनभरि पीडा भए पनि सबैले सहयोग गर्दा समस्या हुँदैनजस्तो लागेको थियो’ उनले भनिन्, ‘तर, हाम्रो सममस्या भने अहिले पनि जहाँको त्यहीँ छ।’ बाढी पीडितहरु यतिबेला पुनःस्थापनाको पर्खाइमा छन्। तर, पुनःस्थापनामा भएको ढिलाइले उनीहरुको दैनिकी कष्टपूर्ण बनिरहेको छ।
सरकारले बाढी पीडितलाई पनि भूकम्प पीडितसरह ६ लाख ३० हजार रुपैयाँ अनुदान दिने भने पनि यहाँका बाढी पीडितले उक्त रकम पाएका छैनन्। जग्गा नै बगाएकाहरुलाई जग्गा खरिद र जग्गा भएकाहरुलाई घर निर्माणका लागि सरकारले राहत घोषणा गरेको थियो। तर, उक्त रकम अपुग भएको पीडितहरुको गुनासो छ। पञ्चपुरीकी शान्ताले आफूले अहिलेसम्म ५० हजार रुपैयाँ मात्रै पाएको बताइन्। उक्त रकम पनि खाद्यन्न लगायत दैनिक जीविकोपार्जनमा नै सकिएको उनको गुनासो छ। ‘राहतका नाममा पाएको ५० हजार जग्गा खोज्दैमा सकियो,’ उनले भनिन्, ‘त्यति रकमले जग्गा कहाँ पाइन्छ?’
जग्गाको मूल्य दिन प्रतिदिन बढेकाले उक्त रकमबाट खरिद गर्न नसकिएको पीडितहरु बताउँछन्। जग्गा खरिदका लागि आएको रकमले कतिपय पीडितले भने अस्थायी शिविरमा नै टहरा निर्माण गरेका छन्। शान्ता भन्छिन्, ‘जग्गा खरिद गर्न नसकेपछि त्रिपालबाट टहरामा सरियो। सरकारले नै जग्गा पहिचान गरेर हाम्रो पुनःस्थापना गरिदिएको भए हुनेथियो।’
शिविरमा बस्दै आएकी भूमिका खत्रीले पनि पुनःस्थापनाका लागि पहल गरिदिन सरकारसँग आग्रह गरिन्। ‘किस्ता किस्तामा रकम दिएर चरालाई चारो दिएजस्तो भयो,’ उनले भनिन्, ‘सरकारले नै घर जग्गाको व्यवस्था गरिदिए हाम्रा दुःखका दिन केही भए पनि परिवर्तन हुनेथिए।’
जिल्लाका ९ सय ७१ परिवार बाढी पीडितमध्ये ७ सय १६ परिवारसँग जग्गा छैन भने बाँकी २ सय ५५ परिवारसँग जग्गा भए पनि घर छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।