नुवाकोट- नुवाकोटमा परम्परागत धुरी भएका घरहरु हराउँदै जान थालेका छन्। नुवाकोटमा करिब १३ हजारभन्दा बढी घरहरु पुनर्निर्माण भइसकेको अवस्थामा परम्परागत धुरी भएका घरहरु लोप हुँदै गएका हुन्।
भूकम्प र त्यसको पुनर्निर्माणका लागि सिमेन्ट, बालुवा र डन्डीमात्रै बलियो हुने आम मानिसहरुको बुझाइले नुवाकोटमा परम्परागत घर मासिन थालेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए।
निर्माण भएका घरहरुले नुवाकोटको परम्परा र संस्कृतिको रक्षा गर्न नसकेको भन्दै प्रमुख तामाङले समन्वय समितिले पुन: जिल्लामा पुनर्निर्माणको अभियान चलाउने बताए।
नुवाकोटको पुनर्निर्माणमा आफू अलिकति पनि खुसी नभएको प्रतिक्रिया दिँदै तामाङले पुनर्निर्माणमा एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए। दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा ५० प्रतिशत पुनर्निर्माण सम्पन्न हुँदासमेत केही औंलामा गन्न सकिने घर मात्र निर्माण सम्पन्न भएका छन्।
गाउँहरुमा पुरानो संरचना र संस्कृति ध्वस्त भएकाले सबै स्थानीय जनप्रतिनिधिहरु चनाखो हुनुपर्ने किस्पाङ गाउँपालिकाका छत्रबहादुर लामा बताउँछन्। ध्वस्त भएको संस्कृतिलाई फर्काउन प्राकृतिक स्रोत र साधनको प्रयोग गरी अब बन्ने घरहरु परम्परागत तरिकाले भूकम्प प्रतिरोधात्मक बन्नुपर्ने उनको भनाइ छ।
स्थानीय स्रोत र साधनको प्रयोग गरी घर बनाउँदा सरकारले प्राथमिकता दिनुपर्ने र त्यस्ता घर बनाउन सबै गाउँपालिकाले प्रोत्साहन गर्नुपर्ने तामाङले बताए।
नुवाकोटमा भएका ढुंगा, माटो र काठ लगायतका सामग्री प्रयोग गरेर भए पनि घर बलियो बनाउन सकिने भए पनि सबै भूकम्प प्रभावितहरुको ध्यान सिमेन्ट बालुवामै जाँदा जिल्लामा भएका प्राकृतिक स्रोतहरु खेर गइरहेको उनको भनाइ छ। घर बलियो बनाउन सिमेन्ट, बालुवा र रडको नै प्रयोग गरे घर बलियो हुन्छ भन्ने मान्यताले गर्दा आफूले पनि सिमेन्ट बालुवा नै प्रयोग गरी घर बनाएको विदुर नगरपालिका वडा नं ५ देविघाटका गणेश रिमालले बताए।
रिमाल भन्छन्, 'स्थानीय ढुंगा माटोले पनि बलियो घर त बनाउन सकिन्छ तर त्यस्ता सामग्रीले घर बनाए किस्ता पास नहुने डरले मैले छड, सिमेन्ट र बालुवाको नै प्रयोग गरेको हुँ।'
बेलकोटगढी नगरपालिका जिलिङका अच्युत रिजालले पनि घर पास नहुने डरले घर बनाउँदा ढुंगा, माटो प्रयोग नगरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।