कतिपय नाताको नाम हुँदैन
कतिपय नाममा मात्र
कति परिचयमा मात्रै सीमित हुन्छन्
कति परिचयपत्रमा मात्रै
कुनै नातामा मौनतामा बोल्छ
कुनै नाताको चित्कार पनि सुनिन्न
कति नाताले हक जताउँछन्
कतिपयले अधिकार जमाउँछन्
कतिपय भने जिम्मेवारी लिएर आउँछन्।
समयसँगै नाताहरू पनि काँचुली फेर्छन्,
हिजोका रङ्गिन नाताहरू,
आजसम्म दागझैं बनेर बसिरहेका छन्,
किताबझैं रोमाञ्चक लाग्ने थुप्रै नाताहरू
कहिलेकाँही झस्काइरहन्छन्।
समय बित्दै जाँदा,
नजिकिएकाहरू टाढिएजस्तो
टाढिएकाहरू नजिकिएजस्तो
लाग्ने रहेछ जीवन।
घडी लगाउनेहरू बढ्या-बढ्यै छन्
समय दिनेहरू घट्या-घट्यै।।
जीवनको अमूल्य कमाई रहेछ नाता,
कैयौं किताबका लाखौँ शब्दमा
भेटिन्छ नाताको बखान
तर, त्यसले अनुभूति नदिने रहेछ
त्यसैले अब किताब होइन,
आँखाहरू पढ्न मन छ,
अनुहारका रेखाहरू बुझ्न मन छ,
आत्मा छोएर नाता निभाउन मन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।