बुटवल– दुई सय वर्षअघि नेपाली फौजले अंग्रेज फौजलाई हराएको बुटवलको ऐतिहासिक जितगढी किल्लामा विजय उत्सव दिवस मनाइएको छ।
बुटवल उपमहानगरपालिकाले शुक्रबार आयोजना गरेको समारोहमा नेपाली सेनाको एक टुकडीले किल्लामा सलामी अर्पण गर्यो। नेपाली फौजले अंग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको २०३ वर्ष पुगेको अवसरमा उपमहानगरपालिकाले पहिलो पटक बैसाख ७ गतेको दिनलाई जितगढी विजय उत्सव दिवस रुपमा मनाउन थालनी समेत गरेको छ।
१८७२ बैशाख ७ गते जितगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको दिनका रुपमा यकिन गर्दै दिवस मनाउन थालिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
विजय उत्सव दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जितगढी किल्ला प्रदेशको मात्र नभई राष्ट्रकै शिर ठाडो बनाउने ऐतिहासिक महत्वको सम्पदा भएको बताए। उनले सम्पदाको संरक्षण र संवर्द्धन गर्दै देशकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बनाइने समेत बताए।
दिवस समारोहमा सहभागी निजी क्षेत्र, नागरिक अगुवा तथा समुदायका साथमा साझा संकल्प गराउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘अब जितगढीको संरक्षण र संवद्र्धनमा आजैदेखि समर्पित हुन्छु।’ सो क्रममा सहभागीहरुले हात उठाउँदै समर्थन जनाएका थिए।
समारोहमा प्रदेश सरकाका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी लगायतले हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको जितगढीको मुहार फेर्न अब आफूहरुको पनि सहकार्य हुने प्रतिबद्धता व्यक्त गरे।
बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले जितगढी ऐतिहासिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण भएकाले यसको संरक्षण, संवर्द्धन र विकासका लागि ५० लाख बजेट छुट्याएर काम थालेको बताए। उनले उपमहानगरले जितगढी क्षेत्रमा रहेको जग्गाको संरक्षण गर्दै हालसम्मकै ठूलो राष्ट्रिय झन्डा र कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाउने निर्णय गर्दै प्रक्रिया समेत अगाडि बढेको प्रमुख सुवेदीले जानकारी दिए।
जितगढी क्षेत्र रहेको बुटवल वडा नंं १ र २ का घरहरुमा एउटै प्रकारको रंग लगाइँदै उक्त बस्तीलाई पुरातात्विक क्षेत्रको रुपमा विकास गरिने भएको छ। किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरु क्रमिक रुपमा हटाइने जनाइएको छ। अहिले वडा नम्बर १ को कार्यालय रहेको क्षेत्रमा जितगढी युद्ध संग्रहालय बनाइने लक्ष्य रहेको नगर उपप्रमुख गुमादेवी आचार्यले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।