डडेल्धुरा– अधिकांश पढेलेखेका युवायुवतीको उद्देश्य हुन्छ, जागिर खाने। पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौंतारिइरहेका हुन्छन्। अझ भन्ने हो भने, गैरसरकारी संस्थामा जागिर गर्नेको त लहर चलेको छ।
तर, केही व्यक्ति यस्ता पनि छन्, जो जागिर छोडेर आफ्नै व्यवसायमा रमाइरहेका हुन्छन्। त्यसको एउटा उदाहरण हुन्, कान्ति जोशी। उनी विगत ८ महिनादेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडामा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन्। उनको घर बैतडीको सिगास गाउँपालिका– २ धौलाडीमा हो।
उनी आजभोलि डडेल्धुराको अमरगढी नगरपालिका– ४ मा बस्दै आएकी छिन्। उनीसँग एक दशक विभिन्न संघसंस्थामा काम गरेको अनुवभ छ। २०६२ देखि २०७३ सम्म उनले विभिन्न संघसंस्थामा काम गरिन्। ‘दुई वर्षजति नेपालगञ्जमा काम गरें’, उनले भनिन्, ‘बाँकी समय मैले बझाङमा काम गरेकी हुँ।’

आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन्। दैनिक दुई हजारभन्दा बढी आम्दानी भइरहेको उनले बताइन्। घरखर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्ने गरेको जोशीले सुनाइन्।
‘महिनामा यति नै कमाइ हुन्छ भन्ने त छैन, तर पनि मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु’, उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु। दुई जना बच्चाको स्कुल खर्च पनि यही व्यवसायले धानेकी छु।’ श्रीमान्को हौसला र साथले आफूले ब्युटी पार्लर व्यवसाय सञ्चालन गरिरहेको उनले बताइन्।
‘पहिले त मैले एनजिओ, आइएजिओमा काम गरें’, जोशीले भनिन्, ‘पछि श्रीमान्, परिवार सदस्य र साथीहरूले पनि आफ्नै व्यवसाय गर्ने मेरो योजनामा साथ दिनुभयो ।’ उनका श्रीमान् डडेल्धुराको अमरगढी नगरपालिका खलंगा वन कार्यालयमा रेन्जर पदमा कार्यरत छन्।
जागिर र व्यवसायमा आकाश–जमिनको फरक
एनजिओको जागिर र व्यवसायमा आकाश–जमिनको फरक भएको कान्तिको अनुभव छ। ‘जागिर र व्यवसायमा धेरै फरक छ’, उनले भनिन्, ‘जागिर गर्दा १५–२० हजारका लागि महिनौं कुर्नुपर्छ तर व्यवसाय गर्दा नियमित पौसा चलाउन पनि पाइन्छ र मासिक २५–३० हजार कमाइ पनि छ।’
आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागिर टाइमपास जस्तो लाग्ने गरेको उनी बताउँछिन्। ब्युटी पार्लरका लागि सामानहरू धनगढी, काठमाडौं र भारतको राजधानी नयाँदिल्लीबाट ल्याउने गरेको कान्तिले जनाइन्।

व्यवसाय गर्दाका चुनौती
व्यापार व्यवसाय गर्दा महिलाका लागि धेरै चुनौती रहेको उनको ठम्याइ छ। ‘महिलालाई बाहिर हिँड्न पनि समस्या हुन्छ। पुरुषले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्’, उनले भनिन्, ‘आफू सक्षम, निडर र बाठो हुनुपर्छ, त्यति धेरै हेप्दैनन्। यद्यपि, सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न अलि कठिन नै छ।’
जागिरको पैसाले व्यवसाय
एनजिओको जागिरको पैसा र श्रीमान्को कमाइले आफूले व्यवसाय सुरु गरेको जोशीले बताइन्। कान्तिले भनिन्, ‘यो पसल गर्नुभन्दा पहिले म आफैं जागिर गर्थें। महिनाको २२–२५ हजार कमाउँथें। यो व्यवसाय सञ्चालन गर्न आफ्नो जागिरबाट पनि केही रकम जम्मा गरेको थिएँ र श्रीमान्बाट पनि केही पैसा लिएँ।’
व्यापार सुर गरेपछि श्रीमान् पनि खुसी भएको बताउँदै उनले भनन्, ‘घरपरिवार सँगै बसेर व्यवसाय गर्न पाउँदा उहाँ पनि खुसी हुनुन्छ। जागिरमा हुँदा बाहिरफेर हिँडिरहनुपर्थ्यो।’
एसएलसी उत्तीर्ण गरेपछि कान्ति २०६२ सालमा पढाइको सिलसिलामा नेपालगन्ज पुगेकी थिएन्। उनले त्यहीँ ६ महिना ब्युटिसियन तालिम लिइन्। ‘यो सीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुबाले दिनुभएको हो,’ उनले भनिन्, ‘सौन्दर्यले सबैलाई आकर्षित गर्छ। अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन्। आर्थिक सहजतासँगै ब्युटी पार्लरमै गएर आफूलाई आवश्यक सेवा लिने महिला–पुरुषको शौखले पार्लर व्यवसाय राम्रै चलेको छ।’
कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर राम्रै आम्दानी हुने भएपछि ब्युटी पर्लर व्यवसायप्रति धेरै महिलाकोे आकर्षण बढेको छ। यसले महिलामा उद्यमशीलता पनि बढाएको छ। यो व्यवसायलाई अझै विस्तार गरेर लैजाने योजना रहेको कान्तिले बताइन्।
‘पारिवारिक साथ र सहयोग पाए यो व्यवसायलाई अझ विस्तार गर्ने सोच बनाएकी छु,’ उनले थपिन्, ‘व्यवासय सुरु गरेदेखि आफ्नै पौरखमा बाँच्न सकिन्छ भन्ने आत्मविश्वास जागेको छ। घरपरिवार चलाउनका लागि सधैं श्रीमान्कै मुख ताकेर पनि बस्नुपर्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।