काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग वार्ता गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। आफ्नो निवास खुमलटारमा बहुमत सचिवालयको बैठक सकेर उनी वरिष्ठ नेता माधवकुमार नेपालसहित बालुवाटार पुगेका हुन्। आज बालुवाटारमा ओली, प्रचण्ड तथा नेपालबीच वार्ता हुँदैछ।
प्रचण्डले बालुवाटार बैठकअघि बहुमत सचिवालय सदस्यलाई निवासमा बोलाएर छलफल गरेका थिए। बिहान ९ बजे सुरु भएको बैठक साढे ११ बजे सकिएको एक सचिवालय सदस्यले बताए। बैठकमा वरिष्ठ नेता नेपालसहित, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए।
अध्यक्ष ओली र प्रचण्डले ६ दिनसम्म वान टु वान संवाद गरेपछि बिहीबारको वार्तामा नेता नेपाल पनि थपिने तय भएको थियो।
बालुवाटार बैठकको रणनीति बनाउन बहुमत सचिवालय सदस्यले खुमलटारमा बैठक गरेका हुन्। बिहीबारको बैठकबाट पार्टीभित्रको विवाद समाधान हुने गरी कुनै निर्णय हुन सक्ने आँकलन गरिएको छ। यसअघि पार्टीभित्रको विवाद सकारात्मक दिशातर्फ अघि बढेको भन्ने गरिए पनि अझैसम्म कुनै सहमति नभएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।