काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री डा शाशंक कोइरालाले कोरोनाका कारण संकटमा परेको मुलुकलाई कम्युनिष्ट सरकारले कुनै नयाँ योजना दिन नसकेको बताएका छन्।
उनले नेपाली कांग्रेसले अवलम्बन गरेको प्रजातान्त्रिक समाजवाद गरिब नागरिकलाई कसरी धनी बनाउने भन्ने चिन्तन भएको बताए। गरिबलाई धनी बनाएर धनी र गरिबबीचको दूरी कम गर्ने विपी कोइरालाको प्रजातान्त्रिक समाजवादी चिन्तन भएको महामन्त्री कोइरालाको भनाइ थियो।
कोइरालाले नेपाली कांग्रेसको संगठनलाई एकताबद्ध बनाउन र आम नेता कार्यकर्तामा ऊर्जा थप्नका लागि पनि १४ औं महाधिवेशन आवश्यक भएको बताउँदै महाधिवेशन तोकिएको समयमा नै गर्न केन्द्रीय समिति तयार रहेको स्पष्ट पारे। उनले महाधिवेशनका लागि नयाँ संरचनाअनुसारको समायोजनको काम, क्रियाशील सदस्यताको काम सकेपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्ने बताए।
१४ औं महाधिवेशनले कांग्रेसमा नयाँ सन्देश र नयाँ ऊर्जा थप गर्ने कोइरालाको भनाइ थियो। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा मिनेन्द्र रिजालले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानमा विपी कोइरालाले परिकल्पना गरेको समाजवादी व्यवस्थालाई समेटिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।