काठमाडौँ- समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद्बाट निष्काशन गर्ने निर्णय गरेको छ।
कार्यदलको सिफारिसका आधारमा उनलाई सांसद्बाट निष्काशन गर्ने निर्णय गरेको हो। मंगलबार संसदीय दलको कार्यालयमा बसेको बैठकले उनलाई दुवै जिम्मेवारीबाट निष्काशन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले नेपाललाइभलाई जानकारी दिएका छन्।
'अध्ययन कार्यदलले सांसद गिरीलाई पार्टी र सांसद्बाट समेत निष्काशन गर्ने निर्णय गरेको छ,’ ती नेताले भने।
सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संसद्मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने बताएकी थिइन्।
सरकारले दर्ता गराएको संविधान संशोधनसम्बन्धी विधेयकविरुद्ध गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीेको दलको बैठकले गिरीलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो। तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि समाजवादी पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो।
गिरी समाजवादी पार्टीका तर्फबाट समानुपातिक खस/आर्य कोटामा सांसद् बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।