काठमाडौं-नेपाली कांग्रेस र जनता समाजवादीले सरकारले संघीय संसदको अधिवेशन हठात अन्त्य गरेकाे भन्दै आपत्ति जनाएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको दुई दलकाे बैठकले राष्ट्रिय राजनीतिमा बढ्दो गम्भीरता र अन्तर्राष्ट्रिय सम्बन्धमा सरकारको अपरिपक्वताले जटिलता निकालेको निष्कर्ष निकालेको छ।
‘कोरोनाका कारण कैयौंको मृत्यु र हजारौं संक्रमित भएको स्थिति समीक्षा भएको छ,’ दुई दलको बैठकबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘व्यापक परीक्षण, उपचार तथा राहत प्रबन्ध गर्न र विदेशमा अफ्ठयारोमा परेका नागरिकको नि:शुल्क उद्धार गर्न सरकार गम्भीर भएको देखिएन।’
सदनमा छलफलका लागि विधेयक तथा संकल्प प्रस्ताव हुँदाहुँदै प्रतिपक्ष दलहरुसँग छलफल नै नगरि संसद अन्त्य गरेकोप्रति बैठकले असहमति राखेको नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए। उनले भने, ‘सरकार कुनै विषयमा पनि गम्भीर देखिएन। सरकारका कामकारबाहीको समीक्षा गर्न बैठक बसिएको हो।'
बैठकमा देउवासहित कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए। जसपाका तर्फबाट अध्यक्षद्वय महन्थ ठाकुर तथा उपेन्द्र यादवसहित नेताहरु डा. बाबुराम भट्टराई,अशोक राई र राजेन्द्र महतो सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।