काठमाडौं- सोमबार नेप्से सूचक ३३.२७ अंकले सुधार भएको छ। कारोबार सुरु भएको केही समय रातो देखिए पनि ३० मिनेटपछि सुधार हुने क्रममा २.६३ प्रतिशतले सुधार भएर १२९८.७३ अंकमा रोकिएको छ। सूचकमा उल्लेख्य सुधार देखिए पनि कारोबार रकम भने ९२ करोड ७८ लाख रुपैयाँ मात्रै भएको छ।
कारोबार सुरु भएको केही समय नेप्सेको साइट खुल्न सकेको थिएन। साइटमा समस्या आउँदा लगानीकर्ताले बजारको सूचना पाउन सकेका थिएनन्। नेप्सेले पूर्ण रुपमा अनलाइन प्रणालीबाट मात्रै कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ। यसअघि ब्रोकरले लगानीकर्ताहरुका लागि शेयर खरिद बिक्री गरिदिन सक्ने व्यवस्था थियो।
यससँगै दुईवटा डिम्याट खाता भएका, धेरैवटा ब्रोकरकोमा खाता भएका, क्यास लिमिटका कारण अर्डर गर्न सक्ने अवस्था छैन। त्यसमा पनि साइटमा आइरहेको समस्याले गर्दा शेयर खरिद बिक्री नै प्रभावित भइरहेको छ।
ग्लोबल आइएमई लघुवित्त र नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबारमा सर्किट लागेको छ। जम्मा १७६ वटा कम्पनीको कारोबार हुँदा ११९ वटाको शेयर मूल्य बढेको छ भने २७ वटाको घटेको छ। सूचकमा उछाल आउँदा पनि सबैभन्दा धेरै राधी जलविद्युतको शेयर ९.८९ प्रतिशतले तल झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।