काठमाडौं- नेपाल स्टक एक्सचेन्जले कोभिड- १९ को महामारीलाई दृष्टिगत गरी नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स)मार्फत अनलाइन कारोबारमात्रै गर्न सकिने व्यवस्था गरे पनि सहजै प्रणाली खुल्न सकेको छैन। साइट खुल्नमै समस्या देखिएपछि लगानीकर्ताले सहजै कारोबार गर्न सकेका छैनन्।
साइट नखुलेको भन्दै लगानीकर्ताले गुनासो गरेपछि नेप्सेले आइतबार विज्ञप्ति जारी गर्दै यसको दोष ब्रोकरलाई लगाएको छ। कारोबार हुन नसकेमा यसको जानकारी ब्रोकरलाई गराउने र ब्रोकरले समाधान गर्ने भनिएको छ। नेप्सेले दिएको प्रणालीमै समस्या आएकोले कारोबार हुन नसकेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले आरोप लगाए। उनले भने, 'प्रणालीमा समस्या छ। पहिलाको जस्तो सहज छैन। यसका लागि हामीले कुरा गरिरहेका छौं। कारोबार नै नभएको त होइन तर स्लो छ।
कोभिड- १९ को महामारीका कारण नेप्सेले प्रणालीमा केहि फेरबदल गर्याे तर समाधान हुन नसक्दा यस्तो अवस्था आएको रानाभाट बताउँछन्। उनले भने, 'नेप्सेकै साइटमा समस्या छ। अनलाइन कारोबार गर्ने भन्दै गर्दा लगानीकर्ता स्वयम्ले कारोबार गर्न किन नपाउने।' ब्रोकरलाई दोष लगाउने हो भने ब्रोकरलाई टिएमएस ल्याउन दिनुपर्ने रानाभाटको माग छ। 'टिएमएस दिने आफू। हामीले लगानीकर्ताले चलाउन सकेनन् भनेर दोष लगाएर कसरी समाधान आउछ,' उनले भने।
ब्रोकरहरुले लगानीकर्तालाई उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) तथा सदस्य दलालको डाटा सेन्टर सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित ब्रोकरको भएको नेप्सेले जनाएको छ। तर ब्रोकरहरु भने नेप्सेकै साइटमा समसया आएको भन्दै आरोप लगाएर बसेका छन्। यसको समाधानको लागि नेप्सेले सम्पूर्ण ब्रोकरलाई एपिआई र टिएमएस ल्याउन दिनुपर्ने उनले माग गरे। उनले भने, 'हामी खर्च गरेर एपिआई र टिएमएस ल्याउन तयार छौं। यदि हामीले ल्याएको टिएमएस र एपिआई राम्रो भएन भनेर भन्न पायो।' उनले थपे, 'जबजम्म ब्रोकरले आफ्नो टिएमएस ल्याउँदैनन् तबसम्म यसको जिम्मेवारी नेप्सेले लिनुपर्छ। ब्रोकरले ल्याएको टिएमएस चलेन भने मात्रै दोष लगाउन पाइन्छ। अहिले ब्रोकरलाई दोष दिएर उनीहरु पन्छिन पाउँदैनन्।'
ब्रोकर र नेप्सेले एक आर्कालाई दोषारोपण गरे पनि लगानीकर्ताले भने सहज रुपमा कारोबार गर्न पाएका छैनन्। नेप्सेले अनलाइन प्रणाली भन्दै गर्दा लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाउनुपर्छ। अनलाइन प्रणाली भन्ने तर दिनदिनै समस्या मात्रै देखिने अवस्थाले गर्दा नेप्सेको अनलाइन प्रणालीमाथि नै थप प्रश्न उठ्दै जान थालेको छ। यसका लागि नेप्सेले नै अनलाइन प्रणालीमा देखिएका समस्या समाधान गर्नुपर्छ र लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाउनुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।