काठमाडौं– वैदेशिक रोजगार बोर्डको सदस्यमा वरिष्ठ वैदेशिक रोजगार व्यवसायी हेम गुरुङ र स्वास्थ्य व्यवसायी कैलाश खड्का मनोनित भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बिहीबार उनीहरुलाई बोर्डको सदस्यमा २ वर्षका लागि मनोनित गरेका हुन्।
गुरुङ एसओएस म्यानपावर सर्भिस प्रालि तथा कतार भिसा सेन्टरका सञ्चालक हुन भने खड्का स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष हुन्। स्वास्थ्य व्यवसायी खड्का तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसिया जाने कामदारमाथि आर्थिक भार पारी ठगी गरेको आरोप लगाए मध्येका एक हुन्। गोकर्ण विष्टले भिएलएन, माइग्राम, बायोमेट्रिक, ओएससीलगायत संयन्त्रले मलेसिया जाने कामदारसँग अर्बौं ठगी गरेको आरोप लगाई कारबाही प्रक्रिया अगाडी बढाएका थिए। आरोप लगाएका मध्ये अन्य व्यक्तिहरु पक्राउ परे पनि खड्का फरार सूचीमा थिए।
पछि गोकर्ण विष्टले लगाएको आरोप पुष्टि हुन नसकेपछि अन्य आरोपित व्यक्तिहरुले अदालतबाट समेत सफाइ पाइसकेका छन्। वैदेशिक रोजगार बोर्डको अध्यक्षमा श्रममन्त्री र सदस्यहरुमा राष्ट्रिय योजना आयोग, श्रम सचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक, म्यानपावर तथा मेडिकल व्यवसायीहरु, ट्रेड युनियनलगायत प्रनिनिधिहरु रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।