काठमाडौ- नेकपा केन्द्रीय सदस्यहरुले बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई हस्ताक्षर बुझाउने भएका छन्। नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्ताक्षर बुझाउने भएका हुन्।
पार्टीमा बढ्दै गएको विवाद समाधान गर्न केन्द्रीय कमिटी बैठकको माग गर्न थालिएको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बताए। 'हामीले पार्टी एकतालाई जोगाउन पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिइरहेका छौ,’ न्यौपानेले भने, ‘स्थायी कमिटी बैठकबाट विवाद समाधान हुने नदेखिएकाले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्ने तयारी गरेका हाैं।'
अहिलेसम्म ५३ जना केन्द्रीय सदस्यकाे हस्ताक्षर संकलन भएकाे र एक सयभन्दा धेरै केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भएपछि दुवै अध्यक्षलाई बुझाउने तयारी छ। ‘हामीले नेता साथीहरुसँग सल्लाह गरिरहेका छौं। हिजोमात्रै ५३ जना केन्द्रीय सदस्य बैठक बोलाउनु पर्छ भन्नेमा पुग्नु भएको छ,’ न्यौपानेले भने, ‘सोमबार केन्द्रीय कार्यायलमा छलफल गर्ने भनेका छौं। त्यहाँ कति जम्मा हुनुहुन्छ त्यसैका आधारमा छिट्टै हस्ताक्षर बुझाउने छ।’
बैठकको माग गर्नेमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य मात्रै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।