काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका खेलाडी इडन हजार्डको गोलिगाँठाको चोटको समस्या बल्झिएको छ। शनिबार टिमका अरु सदस्यसँग अभ्यासमा नदेखिएका हाजार्डले आइतबार बेलुका हुने एथ्लेटिक क्लबसँगको खेल पनि गुमाउने छन्।
हाजार्डसँगै अहिले मड्रिड टिमका राफेल भारान र नाचो पनि चोटको समस्यामा छन्। हाजार्डले यसअघि गेटाफेसँगको खेल पनि गुमाएका थिए। त्यसबेला आराम दिइएको भनिएका हाजार्ड एथ्लेटिकसँगको खेलमा मैदान फर्कने विश्वास गरिए पनि उनमा चोट देखिएको हो।
जसले चेल्सीबाट मड्रिड आएदेखि नै चोटले सताइएका हाजार्डको पहिलो सिजन खराब हुने देखिएको छ। अहिलेको चोट कति गम्भीर हो र उनी कति समय मैदानबाहिर रहन्छन् भन्ने यकिन छैन।
‘हजार्डले अहिले कठिन परिस्थितिको सामना गरिरहेका छन्। आश गरौँ उनी केही दिनमा ठीक हुनेछन् र सिजन नसकिँदै मैदानमा देख्न पाइनेछ’, प्रशिक्षक जिदानले भनेका छन्, ‘हजार्ड अहिले पहिलो वर्ष क्लबमा छन्। उनी क्लबको जितमो योगदान दिन चाहन्छन्। यस्तोमा चोटका कारण बाहिर हुनुपर्दा उनी दुःखी भइहाल्छन्।’
गएको नोभेम्बरमा पिएसजीसँगको खेलका बेला चोटग्रस्त भएका हजार्डलाई त्यसबाट बाहिर निस्कन ६७ दिन लागेको थियो। त्यसपछि फेब्रुअरीमा लेभान्टेसँगको खेलका बेला पनि चोट बल्झिएपछि उनी ७६ दिन मैदान बाहिर रहे।
गएको मार्च ५ मा शल्यक्रिया गरेपछि चोटमुक्त हुने आश गरिए पनि हजार्डको चोट पुनः बल्झिएको हो। अहिले मड्रिड टिम मैदानमा रहँदा पनि विपक्षी खेलाडीले गर्ने फोउलमा धेरैजसो हजार्डविरुद्ध नै देखिन्छ। औषतमा हेर्ने हो भने हजार्डमाथि प्रत्येक २३ मिनेटमा फोउल भइरहेको छ।
हजार्डले मड्रिडमा खेलेका १४ खेलको १ हजार ८ मिनेटलाई हेर्ने हो भने उनीमाथि ४४ पटक फोउल भएको छ। विशेष गरी बलसँग खुट्टा नजिक रहने र ड्रिबल गर्ने उनको शैलीका कारण विपक्षीको उनीमाथिको फोउल बढी हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।