काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर नेकपा संसदीय दलका उपनेता सुभासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्रीको तर्फबाट सन्देश लिएर नेम्वाङ देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।
देउवासँग नेम्वाङले नेकपाको आन्तरिक कलहका कारण उत्पन्न राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन्। ‘पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे जिम्मेवार प्रतिपक्षलाई जानकारी गराउने उद्देश्यले म शेरबहादुर देउवाजीकोमा गएका हुँ,’ नेम्वाङले नेपाल लाइभसँग भने, ‘कांग्रेससँग संवैधानिक परिषदको बैठक, रिक्त स्थानमा नियुक्ती र अमेरिकी सहयोग कार्यक्रम एमसिसीको विषयमा छलफल भएको छ।’
नेम्वाङले नेकपाको कलहका कारण सरकारमा सहकार्यका विषयमा छलफल नभएको दावी गरे। ‘तपाईंलाई यो विषय जसले सुनाएको छ, उसैलाई सोध्नुहोला,’ नेम्वाङले भने।
प्रधानमन्त्रीका विश्वासपात्र नेम्वाङको बुढानीलकण्ठ प्रवेशलाई अर्थपूर्णरूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।