फाइल तस्बिर काठमाडौं- कोरोनाका कारण बन्द रहेको रसुवागढी–केरुङ नाका सोमबारदेखि खुल्ने भएको छ। अघिल्लो हप्ता चीन र नेपालका सीमा सुरक्षा अधिकारीसमेतको बैठकले निश्चित मापदण्ड बनाएर सीमा नाका खोल्ने सहमति जनाएको थियो।
भन्सार विभागका महानिर्देशक सुमन दाहालले सामान बोकेका कन्टेनरहरु सोमबार बिहान चीनबाट नेपाल प्रवेश गर्ने बताए। असार १० गते नेपाल र चीनका अधिकारीहरुबीच बसेको बैठकले दुई देश जोड्ने मितेरी पुलसम्म चिनीयाँ कन्टेनरबाट सामान ल्याउने र त्यहाँबाट सामान लोड गरी नेपाल ल्याउन नेपाली कामदार तथा सवारी नै प्रयोग गर्ने सहमति भएको थियो।
त्यसका लागि नेपालका तर्फबाट १५ जना कन्टेनर चालक र १५ जना लोडरहरुको नामावली चिनियाँ पक्षलाई जानकारी गराइएको थियो। ती कामदारले मितेरी पुलसम्म आइसकेको सामान लोड गर्ने र रसुवागढी भन्सारसम्म ल्याइपुर्याउने छन्।
त्यस्तै चीनबाट सामान ल्याउने कामदारको पनि कोरोना परीक्षण गर्ने तथा उनीहरुलाई आइसोलेनमा राखी ढुवानीको कामलाई निरन्तरता दिने सहमति भएको थियो। सोमबार चीनबाट आउने ४ वटा कन्टेनरबाट १ सय २० मेट्रिक टन सामान रसुवागढी भन्सार आइपुग्नेछ। त्यहाँबाट सामान लोड गर्ने र भन्सारसम्म ल्याइपुर्याउने कामदारको पनि नियमित कोरोना परीक्षण अनिवार्य गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।