काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल सुरु भएको छ। पार्टीमा चर्किएको विवादका विषयमा उनीहरुबीच छलफल हुँदैछ।
छलफलमा ओलीनिकट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने प्रचण्डनिकट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन्।
स्थायी कमिटी बैठकमा अधिकांस सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद चर्किएको थियो। विवादले चरम रुप लिएपछि शीर्ष तहमा छलफल भइरहेको छ।
यो छलफल निर्णायक हुने नेताहरुको विश्वास छ। आफू र राष्ट्रपतिलाई हटाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले पनि राष्ट्रपति भेटेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी भएको र आफूलाई पनि हटाउने षडयन्त्र भएको शनिबार मन्त्रीहरुलाई भनेपछि ओली इतरका नेताहरु आज राष्ट्रपति भेट्न पुगेका थिए। प्रधानमन्त्री ओलीले पार्टी संकटमा पुगेको ब्रिफ्रिङ गरेपछि इतरका नेताहरुले राष्ट्रपतिलाई पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेको बताइएको छ। राष्ट्रपतिसँगकाे भेटमा नेताहरुले प्रधानमन्त्री ओलीका गलत कदमविरुद्ध साथ नदिन राष्ट्रपतिलाई आग्रह गर्दै महाअभियोग लगाउने हल्ला निराधार भएको बताएका थिए।
नेकपा स्थायी कमिटि बैठक साेमबार बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।