काठमाडौं-मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आइतबार बिहान साढे ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ। २०५६ बाट सुरु भएको आयोजना हालसम्म पनि पुरा हुन सकेको छैन।
२०७६ चैतमा मेलम्ची खानेपानी आयोजनाको अस्थायी बाँधबाट सुरुङमा पानी हालेर परीक्षण गरिएको थियो। काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका-१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
आइतबार मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले जानकारी दिए। यसबारेमा विस्तृतमा दिउँसो मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने उनको भनाइ छ।
इटालीयन कम्पनी सीएमसीले आयोजनाको ठेक्का तोडेपछि सरकारले चिनियाँ सिनो हाइड्रोलाई बाँकी कामको जिम्मा दिएको थियो। ठेकेदार कम्पनी सिनोले गत असोजमा सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोड रुपैयाँमा हेडवर्क्सकाे ठेक्का पाएको थियो। सम्झौताकाे मितिले दुवै काम सक्ने समयावधि १५ महिना भए पनि आयोजनाले समय अगावै पूरा गरे ठेकेदार कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत रकम बोनस दिने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।