काठमाडौं-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरूले आगामी आर्थिक वर्षमा २१ अर्ब ६२ अर्ब रूपैयाँ खर्च गर्ने भएका छन्। आइएनजिओहरूले नेपालको कृषि, स्वास्थ्य, शिक्षा, तथा पर्यावरणसँग सम्बन्धित विषयमा धेरै रकम खर्च गर्न लागेका हुन्।
अर्थ मन्त्रालयका अनुसार आगामी वर्ष अधिकांश आइएनजिओले स्वास्थ्य क्षेत्रमा खर्च गर्ने गरी कार्यक्रम तयार गरेका छन्। त्यसका अतिरिक्त शिक्षा, भूकम्पपछिको पुनर्निर्माण, खाद्य सुरक्षा, बालबालिका तथा महिला संरक्षण र बेचबिखन अन्त्यका लागि काम गर्ने भन्दै उनीहरूले नेपालमा यो रकम खर्च गर्ने गरी कार्यक्रम बनाएका हुन्।
आउँदो वर्ष १२० अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालमा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ। उनीहरूको कुल बजेट ९३ अर्ब ६१ करोड रूपैयाँ छ। त्यसमध्ये साढे २१ अर्ब आउँदो वर्ष खर्च गर्ने तयारी गरेका छन्।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले समाज कल्याण परिषदसँग अनुमति लिएरमात्रै आफ्ना कार्यक्रम कार्यान्वयन गराउन सक्छन्। नेपालमा उनीहरूले सरकारले तोकेका क्षेत्रमा मात्रै आफ्नो स्रोत परिचालन गर्न सक्छन्।
'समाज कल्याण परिषदसँग अनुमति लिएर कार्यक्रम कार्यान्वयन गर्न खोजेका गैरसरकारी संस्थाको रकम नेपालभित्र कुनै न कुनै रूपमा खर्च हुने भएकाले हामीले त्यसको विवरण सार्वजनिक गरेका छौँ,' अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले भने।
१८ अर्ब ८० करोड प्राविधिक सहायता
नेपालमा सहायता परिचालन गर्ने दातृ निकायले १२४ आयोजना/विकास कार्यक्रममा प्राविधिक सहायता परिचालन गर्ने भएका छन्। यसका लागि उनीहरूले आउँदो वर्ष १८ अर्ब ८० करोड रूपैयाँ खर्च गर्दैछन्। प्राविधि सहायतातर्फ पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका कार्यक्रम सबैभन्दा धेरै छन्।
राष्ट्रिय पुनर्निमार्ण प्राधिकरण, अर्थ मन्त्रालय तथा कृषि विकास मन्त्रालय पनि प्राविधिक सहायता धेरै लिने मध्येमा पर्छन्। यसैगरी वन तथा वातावरण मन्त्रालयअन्तर्गतका ९ वटा कार्यक्रममा प्राविधिक सहायता परिचालन हुनेछ।
अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति २०७६ मा प्राविधिक सहायतालाई व्यक्तिगत र सांगठनिक तहमा राष्ट्रिय क्षमताको विकास गर्ने गरी छनाेटपूर्ण तरिकाले राष्ट्रिय क्षमता विकास योजनासँग आवद्ध गरिने उल्लेख छ। कुनै आयोजनाको तयारी, कार्यान्वयन तथा राष्ट्रिय आवश्यकता र लाभका आधारमा प्राविधिक सहायता स्वीकार गर्ने नीतिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।