काठमाडौं–इटालियन सिरि ए फुटबलमा लिग लिडर युभेन्टसले टोरिनोलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु टिम युभेन्टसले टोरिनोलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। युभेन्टसको जितमा पाउल डिबाला, जुवान क्वाड्राडो र क्रिस्टियानो रोनाल्डोले गोल गरे। टोरिनोका कोफी डिजिडिजीले आत्मघाती गोल गरेपछि युभेन्टसले एक गोल भने उपहारस्वरुप पाएको थियो। यता, टोरिनोका लागि एन्ड्रिया बेलोटीले गोल फर्काए।
खेलको तेस्रो मिनेटमा नै डिबालाले गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। २९औं मिनेटमा क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २-० गोलको अग्रता दिलाए। तर पहिलो हाफको अन्तिम समयमा टोरिनोका बेलोटीले गोल गरेपछि खेल २-१ गोलको स्थितिमा पुगेको थियो।
खेलको ६१औं मिनेटमा युभेन्टसका क्रिष्टियानो रोनाल्डोले फ्रिकिकबाट गोल गरे। उनको उत्कृष्ट गोलसँगै युभेन्टस ३–१ ले अघि रह्यो। त्यस्तै, खेलको ८७औं मिनेटमा कोफीले आत्मघाति गोल गरेपछि युभेन्टस ४–१ गोलअन्तरले विजयी भएको हो।
यो जितसँगै युभेन्टसले दोस्रो स्थानमा रहेको लाजियोसँग ७ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानमा रहेको युभेन्टसको ३० खेलबाट ७५ अंक छ। दोस्रो स्थानमा रहेको लाजियोको समान खेलबाट ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।