काठमाडौं-म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नेमाउथलाई फराकिलो गोलअन्तरले पराजित गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली म्यान्चेस्टर युनाइटेडले बर्नेमाउथलाई ५-२ गोलअन्तरले पराजित गरेको हो। पहिलो हाफमा ३-१ गोलअन्तरले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुग्यो।
सुरुवाती अग्रता भने बर्नेमाउथले लिएको थियो। खेलको १५औं मिनेटमा नै जुनियर स्टानिस्लासले गोल गरे। तर खेलको २९औं मिनेटमा मासन ग्रिनवुड, मार्कुस राष्फोर्डले पेनाल्टीबाट ३५औं मिनेटमा र पहिलो हाफको अन्तिम समयमा एन्थोनी मार्सियलले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई पहिलो हाफसम्म ३-१ को अग्रता दिलाए।
खेलको ४९औं मिनेटमा जोसुआ किङले गोल गर्दै बर्नेमाउथलाई ३-२ गोलको स्थितिमा ल्याए। तर खेलको ५४औं मिनेटमा युनाइटेडले फेरि गोल थप्यो। ग्रिनवुडले गोल गर्दै युनाइटेडलाई ४-२ गोलको अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि अर्थात ५९औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई ५-२ गोलको जित दिलाए।
त्यस्तै, शनिबार राति नै भएको अर्को खेलमा आर्सनलले वोल्भ्सलाई २-० गोलअन्तरले पारजित गर्दा ब्राइटनले नर्विच सिटीलाई १-० गोलअन्तरले पराजित गरेको छ।
लिगको पाँचौ स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ३३ खेलबाट ५५ अंक हुँदा छैटौ स्थानमा रहेको वोल्भ्सको ३३ खेलबाट ५२ अंक छ। वोल्भ्सलाई नै पराजित गरेको आर्सनल भने ३३ खेलबाट ४९ अंक बनाउँदै लिगको सातौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।