ललितपुर- भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चलिरहेको समस्या समाधान गर्न कम्युनिष्ट पार्टी सक्षम रहेको बताएकी छन्। सत्तारुढ दल नेकपाभित्र चलिरहेको आन्तरिक विवादका सन्दर्भमा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।
९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसका सन्दर्भमा शनिबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेकपाले झनै उचाई लिँदै गएकाले अहिले नै कुनै दुर्घटना नहुने संकेत गरिन्। मन्त्री अर्यालले भनिन्, ‘यो समस्या समाधानका निम्ति कम्युनिष्ट पार्टी सक्षम छ, योग्य छ। विगतमा पनि यस्तो हुन्थ्यो। भएरै समाधान गर्दै, छलफल गर्दै यो उचाइमा आएको हो।’
कम्युनिष्ट पार्टीले शिखर चुम्दै गएको भन्दै उनले यसमा धेरै जनताको त्याग, तपस्या, लगानी रहेको उल्लेख गरिन्। जनभावना मर्ने गरी फरक दिशामा नेकपा जान नसक्ने विश्वास उनले दिलाइन्।
कता-कता राजनीतिमा अनिष्ट हुने त होइन भन्ने कसैलाई लाग्न सकेको भए पनि अहिले नै त्यस्तो अवस्था आइनसकेको उनको भनाइ थियो। कम्युनिष्ट पार्टी गतिशील भएको भन्दै उनले कम्युनिष्ट पार्टीमा विचारको बहस, आलोचना, आत्मालोचना स्वाभाविक भएको भन्दै अस्वस्थ ढंगले भएको अवस्थामा भने सोच्नुपर्ने अवस्था आउने बताइन्।
कम्युनिष्ट पार्टीभित्र हुने स्वतन्त्रताको प्रयोगलाई कतै पार्टी गलत दिशामा त गइरहेको छैन भन्ने ढंगले सोच्नु नहुने मन्त्री अर्यालले बताइन्। ‘पार्टीका बैठकमा मनमा लागेका कुरा नभन्ने हो भने कहाँ भन्ने हो? त्यो स्वतन्त्रताको प्रयोग कम्युनिष्ट पार्टीमा आज भइरहेको छ। त्यसको आधारमा धेरै आशंका गरिरहनुपर्ने परिस्थिति छैन’, उनले भनिन्।
उनले स्थायी कमिटि बैठकका एजेण्डा र चालु संसदको अधिवेशनबीच कुनै सम्बन्ध नरहेको बताइन्। संसद अधिवेशन बोलाउने र बन्द गर्ने कुरा सरकारको कुरा भएको भन्दै उनले संसदको बिजनेस नभएका कारण चालु संसद अधिवेशन बन्द गरिएको प्रष्ट्याइन्। अर्यालले भनिन्, ‘हामीले बजेट ल्याउनुपर्ने थियो। यस्तो महामारीमा पनि अधिवेशन बोलाउनुपर्यो‚ बोलायौं। बजेट पास भयो। केही विधेयकहरु थिए, तिनमाथि छलफल गर्नुपर्ने थियो। सहमति जुट्यो।’
संसद भनेको रत्यौली खेल्नका निम्ति चलाइरहने संस्था नभएको भन्दै उनले बिजनेस नभएका कारण बन्द गरिएको प्रस्ट पारिन्। ‘रत्यौली खेल्न संसद चाहिएन, बिजनेस थिएन। सरकारले रोक्यो। कुनै कम्युनिष्ट पार्टीको स्थायी कमिटि बैठक र यसको कहीँ मेल थिएन’, उनले भनिन्।
पार्टीभित्र नेताहरुका बीचमा छलफल, बहस, भनाभन हुने सामान्य कुरा भएको भन्दै उनले नेताहरु आपसमा बसेर निष्कर्ष निकालेर अगाडि बढ्ने विश्वास व्यक्त गरिन्।
कुरा उठाउँदा दुनियाँले अस्वाभाविक ठान्ने खालका विषयहरु नउठाइदिए हुन्थ्यो भन्ने तलका मान्छे सबैको कामना हुनेसमेत मन्त्री अर्यालले बताइन्।
सहकारीमा सन्दर्भमा सम्भावित वित्तीय जोखिम नियन्त्रण गर्न अहिले नै सचेत हुनुपर्ने बताउँदै सहकारीको संख्या अत्यधिक भएका कारण राज्यले मात्रै अनुगमन, नियमन गर्न कठिन रहेको उनले बताइन्। स्वनियमनका कार्यलाई पनि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ। सहकारी क्षेत्रप्रतिको आम जनताको विश्वास कायम राख्न अहिलेदेखि नै सचेत रहनुपर्ने उल्लेख गर्दै उनले त्यसका निम्ति केन्द्रीय सहकारी संघहरु बढी लाग्न आग्रह गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।