काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्। समसामयिक विषयमा छलफल गर्नका लागि सबै मन्त्री र राज्यमन्त्रीहरूलाई बालुवाटार बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।
शनिबार साँझ ७ बजेका लागि सबै मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाइएको जानकारी आएको एक मन्त्रीले नेपाल लाइभलाई जानकारी दिएका छन्।
केही बेरअघिमात्र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल र परामर्शका लागि शनिबार साँझ प्रधानमन्त्री ओली शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ।
पछिल्लो समय राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटघाट बाक्लिँदो क्रममा छ। यता नेकपामा आन्तरिक शक्तिसंघर्ष चर्किएका बेला प्रधानमन्त्री र राष्ट्रपतिबीच अनपेक्षित रूपमा भेटघाट बाक्लिएको भन्दै आलोचनासमेत सुरु भएको छ।
बिहीबार राष्ट्रपतिसँग भेटेर आएलगत्तै राखिएको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। नेकपा स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकमा कुनै जानकारी नै नदिई सरकारले हतारमा संसद् अधिवेशन अन्त्य गरेपछि स्थायी कमिटी बैठकका लागि उपस्थित भएका नेताहरू त्रसित भएका थिए।
शुक्रबार पनि राष्ट्रपतिसँग भेटघाट लगत्तै सबै मन्त्री र राज्यमन्त्रीलाई बोलाइएपछि प्रधानमन्त्रीले कस्तो कदम चाल्ने हुन् भनी आशंका बढेको छ। बिहीबारै नेकपाका अर्का अध्यक्ष प्रचण्डले समेत राष्ट्रपति समक्ष भेटघाट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।