काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरुले हल्ला मच्चाउन र समस्या जन्माउन सक्ने तर समाधान दिन कहिल्यै नसक्ने स्पष्ट परोका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बागमती प्रदेशका कांग्रेस नेता कार्यकर्ताहरुसँग गरेको छलफलमा उनले विश्वमा कम्युनिस्टहरुले हल्ला मच्याउने र समस्या उत्पन्न गर्ने तर समाधान दिन नसक्ने पुष्टी भइसकेको स्मरण गर्दै नेपालमा पनि कम्युनिस्टहरुले यो कुरालाई पुष्टी गरेको बताए।
पौडेलले कम्युनिस्टहरु मुलुकका समस्या समाधान गर्ने बाटोमा प्रवेश गर्न नसकेको बताउँदै अहिले कम्युनिस्टहरुले पाएको झण्डै दुईतिहाईको जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा शंका व्यक्त गरे। पौडेलले दुईतिहाई नजिकको बहुमत मुलुकको समस्या समाधान गर्नका लागि सहयोगी हुनुपर्नेमा परिवर्तन संस्थागत गर्न र विकासको गति अगाडि बढाउन समस्या बन्ने हो कि भन्ने आम नागरिकमा शंका उत्पन्न भएको बताए।
पौडेलले मुलुकमा संकट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिस्टहरुको वैज्ञानिक समाजवाद हो? भनि प्रश्न समेत गरे। विश्वका पुँजीवादी देशहरु र कम्युनिस्ट देशहरु पनि उपभोक्तावादी भइसकेको भन्दै विश्वमा देखिएको समस्या नै पुँजीवाद र साम्यवादले नभई प्रजातान्त्रिक समाजवादले समाधान गर्ने पौडेलको भनाई थियो।
पौडेलले गान्धीवाद समाजवाद नभएपनि गान्धीवादमा आधारित समाजवादले विश्वालाई जोगाउने तर्क गरे। पौडेलले पूँजीवादीहरु राज्यका सबै दायित्व व्यापारीलाई सुम्पेको र कम्युनिस्टहरुले जनतालाई दबाएर बन्द संस्कृति सृजना गरेकाले समस्या देखिएको बताए।
पौडेलले नेपाली कांग्रेसले जोड घटाउन गरेर सत्ता प्राप्तिको राजनीति छोडेर सिद्धान्त र आर्दशनको राजनीति अवलम्बन गर्नुपर्ने बताए। उनले अरुको घर भत्किन्छ र आफ्नो घर बन्छ भन्नु दुर्भाग्यपूर्ण हुने बताए। पौडेलले कम्युनिस्टहरु विभाजन भएर सत्ता प्राप्ति गर्ने कांग्रेसले मुलुकलाई समाधान दिन नसक्ने भन्दै मुलुकका सवै समस्या समाधान गर्ने मिसनका लागि भिजन भएको कांग्रेस आवश्यक रहेको बताए। उनले कांग्रेसको १४ औं महाधिवेशन त्यो मिसनका लागि भिजन भएको कांग्रेस बनाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।