सांकेतिक तस्बिर
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा परेको छ। घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए।
उक्त गाडीमा सवार तीन जना घाइते भएको छन्। शुक्रबार अविरल वर्षासँगै गाउँपालिकाको वडा नम्बर ८ स्थित मल्लेस गाउँमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। चारै जनाको शव निकालिएको छ। बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।
वडा अध्यक्ष गणेशबहादुर बोहोराले ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीय छोरा प्रयाग जेठारा, ८० वर्षीय दले जेठारा र १३ वर्षीय सन्तु जेठाराको शव फेला परेको जानकारी दिए। पहिरोमा पुरिएका मृतक राममती जेठाराकै १६ वर्षीया छोरी अस्मिता जेठारा, १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठाराको शव अझै भेटिएको छैन्।
उनीहरुको खोजी कार्य जारी राखिएको वडा अध्यक्ष बोहोराले बताए। गएराति वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १८ घर बगाएको थियाे।
राती पहिरो आएको थाहा पाएपछि घरभित्र रहेका अन्यले भागेर ज्यान जोगाए पनि सात जना भने पहिरोमा पुरिएका थिए। वडाध्यक्ष बोहोराले पहिरोका कारण विस्थापितहरु रातभर खेतबारीमा पाल टाँगेर बसेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।