फाइल तस्बिर
काठमाडौं- सत्तारुढ नेकपाका केन्द्रीय सदस्यहरुले पार्टी एकताको पक्षमा नेतृत्वलाई दबाब दिन शनिबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा धर्ना दिने भएका छन्। पार्टी केन्द्रीय सदस्यसहितका नेता कार्यकर्ता दिउँसो २ बजेदेखि एक घण्टा धर्नामा बस्ने पार्टी केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।
‘हामीले पार्टी एकताको पक्षमा नेतृत्वलाई दबाब दिन आज दिउँसो धर्नामा बस्ने तयारी गरेका छौं’, गैरेले भने, ‘पार्टीमा विवाद हुँदा वित्तिकै पार्टी फुटाउने कसैलाई अधिकारी छैन। त्यो सहेर नेता कायकर्ता बस्दैनन्।’ पार्टीलाई विधि विधान बमोजिम चलाउनु पर्ने गैरेले बताए।
स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि पार्टीमा विवाद उत्कर्षमा पुगेको हो। ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राखेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित झलनाथ खनाल, माधवकुमार नेपाललगायत नेताहरुले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन्।
पार्टीकाे विवादले फुटसम्मको अवस्था आएपछि एकताको पक्षमा दबाब दिन केन्द्रीय सदस्यहरु धर्नामा बस्न थालेका हुन्। शुक्रबार पनि नेकपा केन्द्रीय सदस्यहरुले पार्टी केन्द्रीय कार्यालयमा एक घण्टा धर्ना दिएका थिए। धर्नामा हिमाल शर्मा, ठाकुर गैरे, लेखनाथ न्यौपाने, विजय पौडेल, कृष्ण केसी, रामकुमारी झाँक्री,अजम्बर राई काङवाङ, रामप्रसाद सापकोटा ‘दीपशिखा’लगायतका नेताहरु सहभागी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।