काठमाडौं- लकडाउन अवधिको ब्याज छुट र किस्ता तिर्ने समय थप हुने व्यवस्थासहितको मौद्रिक नीति ल्याउन राष्ट्रिय व्यापार संघले नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।
व्यापार संघका महासचिव बैकुण्ठ दाहालले मौद्रिक नीति निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने र व्यवसायीमैत्री आउनुपर्ने बताए। ‘कोरोनाले थला पारेको व्यापार व्यवसायलाई उकास्न मौद्रिक नीतिले ब्याजदरमा छुट, किस्ता तिर्ने समय थप र सहज कर्जाको व्यवस्थासहित मौद्रिक नीति आउनुपर्छ’ उनले भने।
कोभिड १९ महामारी संक्रमण तथा रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण व्यापार व्यवसाय गम्भीर आर्थिक संकटमा परेको र अहिलेको अवस्थालाई सहज बनाउन मौद्रिक नीतिले केही नीतिगत तथा मौद्रिक व्यवस्था गर्ने आशमा व्यसायीहरू रहेको उनले बताए। ‘कोरोनाले थचारेको व्यवसायलाई ब्युँताउनु सरकारको मुख्य दायित्व हो। यसकारण पनि सरकारले मौद्रिक नीतिमार्फत पुनर्कर्जाको व्यवस्था गर्नुको साथै सरल र बिनाझन्झट कर्जा पाउन सक्ने वातावरण बनाउनुपर्छ’ उनले भने।
व्यवसायीलाई प्यान वा भ्याट दर्ताको आधारमा बिनाधितो कर्जाको व्यवस्था गरिनुपर्ने पनि व्यापार संघको सुझाव छ। अहिले व्यापार व्यवसाय सुस्ताएको बेला प्यान वा भ्याट दर्ताको आधारमा बिनाधितो कर्जा पाउन सके त्यसले व्यवसायीहरुलाई परेको आर्थिक संकट टार्न सजिलो हुने पनि संघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।